स्याङ्जा
लघुकथाकार लक्ष्मी रेग्मी खनालको पहिलो कृति ‘अन्त्य’ को विमर्श तथा एकल लघुकथा वाचन समारोह स्याङ्जामा सम्पन्न भएको छ।
वैकल्पिक बाटो, पृथक पाइला सिर्जनात्मक अभियान–२०७६ स्याङ्जाद्वारा शनिबार वालिङ–६, मिर्मीस्थित नेचुरल भ्यू प्वाइन्ट रेस्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रम साहित्यिक पुनर्जागरणको छैठौं वार्षिकोत्सव तथा आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीको अवसरमा आयोजना गरिएको हो।
कार्यक्रममा अनन्त अर्याल, शम्भु अर्याल, इन्दु श्रेष्ठ तथा स्वयं स्रष्टा लक्ष्मी रेग्मी खनालबीच लघुकथा विधाको भविष्य र स्याङ्जाली नारी स्रष्टाहरूको लेखन यात्राबारे समुहगत विमर्श गरिएको थियो। विमर्शमा वक्ताहरूले ‘अन्त्य’ कृतिलाई सशक्त नवोदित प्रयासको रूपमा मूल्यांकन गर्दै, लघुकथा विधा र महिला स्रष्टाहरूको भविष्य उज्ज्वल रहेको धारणा राखे।
पुतलीबजार–१३ मा जन्मिएकी खनाल हाल वालिङमा बसोबास गर्दै साहित्य सिर्जनामा सक्रिय छन्। स्नातक तहसम्मको अध्ययन पूरा गरेकी खनालले यसअघि विभिन्न लघुकथा प्रतियोगितामा पुरस्कार समेत जितिसकेकी छन्।
कार्यक्रमको संयोजन वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियानका संस्थापक संयोजक कवि मिलन समीरले गरेका थिए। कार्यक्रममा सरस्वती अर्याल, गुरु ढकाल, भविष्य पण्डित, खगेन्द्रजंग थापा, शोभाकान्त रेमी, विष्णु पाण्डेनी पाण्डे, डि.बी. राना, स्मारिका अर्याल, पारिक्षर न्यौपाने, राजु गैरे, वसन्त खनाल, सूर्यांश अर्याल र धनबहादुर शर्मा लगायतका स्रष्टा तथा अतिथिहरूको उपस्थिति रहेको थियो।