काठमाडौं: बालगायिका परिधी खतिवडाको सुमधुर स्वरमा सजिएको बालमैत्री गीत ‘घरकी फूलबारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। कक्षा ४ मा अध्ययनरत परिधीले प्रस्तुत गरेको यो सिर्जना बाल मनोविज्ञान, पारिवारिक आत्मीयता र राष्ट्रिय चेतनाले भरिएको प्रेरणादायी प्रयासका रूपमा आएको छ।
काठमाडौंको बानेश्वरस्थित प्रज्ञाकुञ्ज बोर्डिङ स्कुलमा अध्ययनरत परिधीको स्वरमा रेकर्ड गरिएको यस गीतका शब्द उनका पिता प्रमोद खतिवडाले लेखेका हुन्। पेशाले सडक विभागमा कार्यरत इञ्जिनियर भए पनि साहित्य र संगीतमा विशेष रुचि राख्ने प्रमोदका यसअघि पनि भावनात्मक गीतहरू प्रकाशित भइसकेका छन्।
गीतमा संगीत संयोजन सविन लिम्बूले गरेका छन्, जसले परिधीको कोमल र भावनात्मक स्वरलाई अझ सजीव बनाएका छन्। म्युजिक भिडियोलाई गुरुभाइ फकीरले निर्देशन गरेका हुन्। छायांकन काठमाडौं वरपरका रमणीय स्थलहरू र परिधीको विद्यालयमा गरिएको छ, जसले गीतलाई थप जीवन्तता प्रदान गरेको छ।
‘घरकी फूलबारी’ मा बाल कल्पनाशक्ति मात्र नभई देशप्रेम, सामाजिक सद्भाव र पारिवारिक सम्बन्धको भावनालाई सरल शब्द र मन छुने धुनमार्फत प्रस्तुत गरिएको छ। राष्ट्रिय चेतनाले भरिएको यो गीतले बालबालिकाको मनमा देशप्रेम र सामाजिक समर्पणको बीउ रोप्ने अपेक्षा गरिएको छ।
यसअघि परिधीले ‘लिटिल स्टार नेपाल’ प्रतियोगितामा ‘मोस्ट पपुलर कन्टेस्टेन्ट’ को उपाधि जितेकी थिइन्। गायन, नृत्य, कविता वाचन र चित्रकलाजस्ता विविध अतिरिक्त क्रियाकलापमा सक्रिय परिधीको बहुप्रतिभा यो गीतमार्फत पुनः उजागर भएको छ।
बाल स्वरको मिठास, सरल शब्दको सहजता र राष्ट्रिय भावना मिसिएको यो सिर्जना दर्शक तथा श्रोताको मन जित्न सफल हुनेमा विश्वास लिइएको छ।