दोहा: गाजा युद्धविरामका लागि वार्ता समूहहरू शुक्रबार दोस्रो दिन कतारमा पुनः जुटेका छन् । इजरायलमा रहेका शीर्ष युरोपेली कूटनीतिज्ञहरूले युद्धविरामका लागि व्यापक दबाब दिने अपेक्षा गरिएको छ ।
इजरायलले सम्झौतामा अवरोध पु¥याएको आरोप लगाउँदै यसअघि सहमति भएका शर्तहरूको कार्यान्वयनमा जोड दिँदै आएको हमासबिना बिहीबार कतारको राजधानी दोहामा पुनः युद्धविराम वार्ता भएको थियो ।
हमासशासित गाजाका अधिकारीहरूले १० महिनाभन्दा बढीको युद्धपछि प्यालेस्टिनी क्षेत्रमा ४० हजारभन्दा बढीको मृत्यु भएको बिहीबार बताएका छन्। गाजामा लडाकूहरूले बन्धक बनाएका बन्धकहरूलाई फिर्ता ल्याउन महिनौंको वार्ता अझै पनि सही दिशामा जानसकेको छैन ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले वार्ताको ‘आशाजनक सुरुवात’ भएको तर अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ ।
इजरायलको प्रमुख सैन्य आपूर्तिकर्ता संयुक्त राज्य अमेरिकाले कतार र इजिप्टसँग वार्तामा मध्यस्थता गर्दै आएको छ ।
संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले प्रस्तावित गाजा युद्धविरामलाई विशेष गरी इरानसँग बढ्दो क्षेत्रीय तनावलाई कम गर्ने कुञ्जीको रूपमा हेरेका छन् ।
“मध्यपूर्वका लागि यो खतरनाक क्षण हो,” बेलायती विदेशमन्त्री डेभिड ल्यामीले फ्रान्सका विदेशमन्त्री स्टेफन सेजोर्नसँगको भ्रमणअघि भन्नुभयो, “स्थिति नियन्त्रणबाहिर जाने खतरा बढ्दै गएको छ ।”
इजरायलका विदेशमन्त्री काट्ज र रणनीतिक मामिलामन्त्री रोन डर्मरसँगको भेटमा उनीहरूले गाजामा युद्धविराम सम्झौतामा सबै पक्षबाट ढिलाइ वा बहाना बनाउने समय नभएकोमा जोड दिने बेलायतको विदेश मन्त्रालयले जनाएको छ ।(रासस/एएफपी)