काठमाडौँ : विराटनगरका अग्रज साहित्यकार तथा समालोचक दधिराज सुवेदीको निधन भएको छ । क्यान्सर रोगको उपचार गरिरहेका सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान ३ बजे निधन भएको हो ।
क्यान्सरपीडित सुवेदीको उपचारका क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा निधन भएको हो।
विराटनगरले साहित्यिक, सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रको अगुवा गुमाएको साहित्यकार मिनकुमार नवोदितले बताए । सुवेदीको पार्थिव शरीरलाई बुधबार विराटनगरको परोपकार घाटमा अन्त्येष्टि गरिनेछ ।
सुवेदीका मोरङको साहित्यिक इतिहास, नेपाली साहित्यका मुस्कानहरु, सौन्दर्य कविता संग्रह, अविरल यात्रालगायत एक दर्जनबढी कृति प्रकाशित छन् । उनले अनेकौं कृतिहरूका समालोचना पनि गरेका छन् ।
भोजपुरको दिङ्लामा जन्मनु भएका सुवेदी विराटनगरलाई कर्मक्षेत्र बनाएर साहित्यमा सक्रिय हुनुहुन्थ्यो । उहाँका खोज तथा अनुसन्धानमूलक दर्जनौँ कृति प्रकाशित छन् । पुस्तक लेखन मात्रै होइन उहाँ समालोचना गर्न पनि त्यतिकै जागरुक हुनुहुन्थ्यो ।सुवेदीका साधनाको अभिरेखाङ्कन (२०४४), प्रतिभा र प्रस्तुति (२०४५) र नेपाली साहित्यका मुस्कानहरू (२०६९) समालोचनात्मक कृति प्रकाशित छन्। सुवेदीका समालोचना सङ्ग्रह विश्वविद्यालयहरूमा पढाइ हुने गरेका छन् । स्वर्गीय सुवेदीका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।
सुवेदीको नाममा राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कारसमेत वितरण हुँदै आएको छ ।