काठमाडौँ- तराईका विभिन्न जिल्लाहरूमा आज (सोमबार) धुमधामका साथ होली पर्व मनाइँदै छ ।
आइतबार पहाडी क्षेत्रमा मनाइएको होली पर्व सोमबार भने तराई तथा मधेसका जिल्लाहरूमा मनाउन लागिएको हो ।वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।
रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मियता, सामप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरू जम्मा भएर होली खेल्ने गरिन्छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।
होलीमा प्रयोग गरिने रङहरूको आ(आफ्नै महत्त्व रहेको छ । नीलो रङ्गलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ्ग भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ्ग हो । भगवान गणेशलाई सबै रङ्ग मन पर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ ।
तराई क्षेत्रमा होलीमा गाइने जोगिरा गीत गाउने चलन छ भने आफन्तहरू मिलेर रंगहरु दलेर एक आपसमा खुसीयाली साटासाट गर्ने चलन रहँदै आएको छ ।
होलीका अवसरमा आज मधेसका जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।