काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडको छैठौं वार्षिक साधारण सभा भदौ ८ गते बुधबार, क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमामाडौँमा सम्पन्न भएको छ ।
उक्त सभाले चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित)का दरले हुन आउने ११ करोड रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७९ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
सभामा क्यापिटलका अध्यक्ष कपिल ढकालले क्यापिटलले आ।व। २०७८/०७९ मा १२ करोड ८ लाख रूपैयाँ खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी ६०।३९ रूपैयाँ कायम गरी संचालनमा रहेका मर्चेण्ट बैंकहरु मध्ये खुद मुनाफाको आधारमा पहिलो स्थान हासिल गर्न सफल भएको सभालाई जानकारी गराए ।
उनले क्यापिटल स्थापना भएको ५ वर्ष ४ महिनाको छोटो अवधिमै हाल संचालनमा रहेका ३० वटा मर्चेन्ट बैंकहरु मध्ये निक्षेप सदस्य सेवा अन्तर्गत ६ लाख डिम्याट खाता खोली पहिलो स्थान, म्युचुअल फण्ड सेवा अन्तर्गत एउटा खुलामुखी योजना सहित ५ वटा योजना संचालन गरी म्युचुअल फण्डको संख्या तथा व्यवस्थापन गरेको रकमको आधारमा पहिलो स्थान र लगानी व्यवस्थापन सेवा अन्तर्गत ५७३ जना ग्राहकहरुबाट १ अर्व ६७ करोड रूपैयाँ भन्दा बढी रकम संकलन गरी तेश्रो स्थान हासिल गर्न सफल भएको जानकारी गराए ।
साथै क्यापिटलले संचालनमा आएको ५ वर्ष ४ महिनाको अवधिमै आफ्नो शेयरधनीलाई १४१ प्रतिशत भन्दा बढी रिर्टन वितरण गर्न सफल भएको समेत जानकारी गराए ।