काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विचार, सिद्धान्त र उद्देश्य एउटै भए पनि पछिल्लो समय नेपालको कम्युनिष्ट आन्दोलन विभाजित हुँदै गएको बताएका छन् ।
जनसमाजवादी पार्टी नेपालको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै नेता महरले सबै कुरा एउटै हुँदा पनि कार्यक्रम मोडेलकाबारेमा केही विमत्ति हुँदा कम्युनिष्ट आन्दोलन विभक्त भएको टिप्पणी गरे ।
‘कांग्रेस पनि कल्याणकारी राज्य व्यवस्थामा विश्वास गर्छ । तर, हामीमा एउटा फरक छ । हामी वितरणको कुरा गर्दै गर्दा उत्पादनको पनि कुरा गर्छौँ । अहिले दुईवटै कुरामा समस्या आइरहेको छ,’ उनले भने । अहिले पुँजीवादको मात्र कुरा भइरहेको बताए । अहिले पुँजी आर्जन र सकंलनको मात्र कुरा भइरहेको बताउँदै उत्पादनको कुरा हुन छोडेको महरको टिप्पणी छ ।
आर्थिक समृद्धिका लागि उत्पादनमुखी राज्यव्यवस्थाको पनि कुरा हुनुपर्ने उनले बताए । ‘कम्युनिस्टहरूलृे वितरणको मात्रै कुरा गर्छन्। नकमाए वितरण कहाँबाट गर्ने’, उनले भने ।
नेता जनताको सेवक भएकाले कुर्सीमा पुगिसकेपछि आडम्बरी बन्ने प्रवृतिको अन्त्य हुन जरुरी रहेको बताएका उनले सधैँ एकै व्यक्ति एकै पदमा बसिरहे उसले जनताका पक्षमा काम गर्न नसक्ने बताए ।
‘हामीले जनताका लागि राजनीति गर्ने हो । विकासका लागि राजनीति गर्ने हो । हामीले भाषणमा यो गर्छौं, त्यो गर्छौं भनिरहनु पर्दैन । राम्रा काम गर्दै गए जनताले त्यसको सम्मान आफँै दिन्छन्,’ महर भन्छन् ।
मनमोहन अधिकारीहरू र कांग्रेसले मिलेर राजनीतिक परिवर्तनका लागि यतिहासिक भूमिका खेलेको महरको भनाइ छ । उनले पुराना नेताहरूले महत्वपूर्ण भूमिका खेलेको भए पनि जनताले अनुभूत गर्ने गरी अहिले पनि सामाजिक परिवर्तन हुन नसकेको टिप्पणी गरे ।
सिपी मैनालीकै युगमा जनताले महसुुस गर्ने गरी विकास र परिवर्तनको काम गर्नसके आफूहरूसहित देश र जनताका लागि सुखद् अनुभूति हुने महरले बताए । उनले सबै राजनीतिक दलको उद्देश्य एउटै भएकाले जनताको समृद्धिका लागि मिलेर काम गर्नुपर्ने कुरामा जोड दिएका छन्।