काठमाडौँ । नेपाली कांग्रेसले सत्ता गठबन्धनमा रहेका दलहरूसँग आगामी निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्यसमितिको आज सम्पन्न बैठकले सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी आगामी सङ्घीय र प्रदेश तहको निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसलाई आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ ।”
गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आमनिर्वाचनमा कांग्रेस प्रस्तुत हुनु पर्दछ भन्ने ठहर बैठकले गरेको छ ।
बैठकले पाँच दलीय गठबन्धनको वर्तमान सरकारले एक वर्षको कार्यकालको समीक्षा गर्दै संविधानलाई ट्र्याकमा ल्याउँदै क्रमशः कोभिड–१९ खोप व्यवस्थापन, एमसिसी अनुमोदन र स्थानीय तहको निर्वाचन लगायतका महत्वपूर्ण काम सरकारले गरेको विज्ञप्तिमा उल्लेख छ ।
अनेक राजनैतिक चुनौती पार गर्दै मुलकलाई सही मार्गमा ल्याई पुर्याउन सफल नेतृत्व गरेको कांग्रेसको नेतृत्वमा विद्यमान आर्थिक चुनौतीलाई सामना गर्दै मुलुकको आर्थिक विकास र समुन्नतिको यात्रालाई सार्थक गति दिएको भन्दै कांग्रेसले जनजीविका र सुशासनलगायत विषयमा सरकारको विशेष ध्यानाकर्षण गराएको छ ।