काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले हालै राष्ट्रिय सभामा पेश गरेको संवैधानिक परिषद् सम्बन्धि विधेयकप्रति असन्तुष्टी जनाएका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत आज सरकारले विधेयक प्रस्तुत गरेर गल्ती गरेको समेत बताएका छन् ।
‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौँ हामी?,’ शर्माले ट्वीटरमा लेखेका छन्, ‘संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी? हुन्छ कसरी? गर्छ कसले? सल्लाह दिन्छ कसले? यो दुःखद छ प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ।’
यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वका सरकारमा ल्याएको विधेयकका केही शब्द हेरफेर गरेर सरकारले विधेयक राष्ट्रिय सभामा पेश गरेको छ ।
ओलीले विधेयक पेश गर्दा नेपाली कांग्रेसका सभापति तथा हालका प्रधानमन्त्री शेरबहादुर देउवाले त्यतिबेला विधेयकको विरोध गरेका थिए ।
तर, अहिले देउवा आफू प्रधानमन्त्री भएपछि भने सोही विधेकय केही शब्द हेरफेर गरेर राष्ट्रिय सभामा पेश गरेका छन्, जसको उनको पार्टीकै नेताले विरोध गरेका छन् ।