नेपाली कांग्रेसले कार्यकर्ता र मतदाताको धारणा बुझेपछि मात्र चुनावी तालमेलबारे निर्णय गर्ने भएको छ । फागुन २९ गतेदेखि शुरू हुने देशव्यापी अभियानमा कार्यकर्ता र जनताको भावना बुझेपछि मात्र गठबन्धनबारे निर्णय लिइने नेताहरूले बताएका छन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि फागुन २९ गतेदेखि शुरू हुने चुनावी अभियानबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेताहरूले केन्द्रीय समितिले मात्र औपचारिक निर्णय लिने बताएका हुन् ।
पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले निर्वाचनको रणनीति बनाउन बस्ने केन्द्रीय समिति बैठकबाट गठबन्धन गर्ने नगर्ने बारे निर्णय लिने बताएका हुन् ।
‘कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार चलिरहेको छ । निर्वाचनको घोषणालाई लिएर दलहरू आ-आफ्नो रणनीति र कार्यक्रम लिएर पहिलो चरण जनतामा जाँदैछन् । हामी पहिलो चरणको अभियान लिएर जनतामा जाँदैछौं,’ उपसभापति खड्काले भने, ‘निर्वाचनको प्रक्रियाको छलफलको क्रममा कार्यसमितिको बैठकले चुनावी तालमेलको बारेमा निष्कर्षमा पुग्छौँ, अहिले गठबन्धन र तालमेलको हुन्छ भनेर अहिले छलफल गर्दैनौ ।’
खड्काले एमसीसीमा जस्तै चुनावी तालमेलबारे कांग्रेसले सर्वसम्मत निर्णय गर्ने बताए । ‘नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्छ, चुनावमा कसरी अगाडि बढ्छ त्यसपछि निर्णय लिन्छौँ । अहिलेसम्म कुनै निर्णय भएको छैन । अन्य दलका नेताहरूले के भन्नुभयो त्यसको अर्थ छैन,’ खड्काले भने ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले के गर्दा धेरै सीट जितिन्छ भन्ने आकलन गरेर चुनावी गठबन्धनबारे निर्णय हुने बताए । ‘गठबन्धनको बारेमा धेरै चर्चा परिचर्चा गर्न आवश्यक छैन । जतिबेला निर्वाचनमा उम्मेदवार उठाउन समय आउँछ, पार्टीले हरेक ठाउँका स्टेन्थ विकनेस मूल्यांकन हुन्छ । के गर्दा बढी भन्दा बढी सीट जितिन्छ, पार्टीले एउटा दृष्टिकोण बनाउँछ,’ महतले भने, ‘सँगै जादा बेनिफिट हुन्छ भने त्यो गरौँला, अलग-अलग गर्दा फाइदा हुन्छ भने त्यसरी जान्छौँ ।’
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले फागुन २९ देखि हुन लागेको चुनावी अभियानमा जनताको कुरा पनि सुन्न लागिएको बताए ।
वैशाख ३० गतेको स्थानीय निर्वाचनलाई केन्द्रित गरेर फागुन २९ देखि चैत २९ गतेसम्म ‘घरघर जाउ, नेपाली कांग्रेस जिताऔं’ अभियान सञ्चालन गर्न लागिएको कांग्रेस प्रवक्ता महतले जानकारी गराए ।
कांग्रेस नेतृत्वको सरकारले गरेका राजनीतिक र आर्थिक उपलब्धिलाई सशक्त ढंगबाट नेपाली जनताको बीचमा राखेर पुनः स्मरण गराउने महतले बताए ।