नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठबीच बिहीबार भेटवार्ता भएको छ । आज बिहान प्रचण्ड निवासमा भएको भेटवार्तामा पार्टी एकता कायम गर्ने विषयमा छलफल भएको हो । सुरुमा नेकपा माओवादी केन्द्रले संशोधन नगरी एमसीसी पास गर्न कुनै पनि हालतमा सहयोग नगर्ने बताएको थियो ।
प्रचण्डले आफूहरु सरकारबाट बाहिरीन तयार भएको तर यथास्थितिमा एमसीसी पास गर्न सहयोग नगर्ने बताएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न सहयोग नगरे सरकारबाट तत्काल बाहिरिन चेतावनी दिँदै नेकपा एमालेसँग छलफल जारी राखेपछि प्रचण्ड आफ्नो अडानबाट पछि हटेका हुन् । संसदबाट एमसीसी पास भएपछि प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटा र माधवकुमार नेपालसहित १४ संसदको पद जोगाउनको लागि आफ्नो अडान बाट पछि हटेको दावी गरे । नेकपा माओवादी केन्द्रले एमसीसी पास गर्न सहयोग गरेपछि चर्को आलोचना भइरहेको छ । पार्टीका कार्यकर्ताहरु नै प्रचण्डको विरोध गरिरहेका छन् । कार्यकर्ताहरु अर्को पार्टीमा समेत प्रवेश गरिरहेका छन् ।
यता नेकपा माओवादी केन्द्रको एमसीसी संसदबाट व्याख्यात्मक घोषणासहित पास गर्ने निर्णयमा नेता श्रेष्ठ पनि असन्तुष्ट छन् । संसदबाट एमसीसी पास भइसकेपछि पनि श्रेष्ठले आफ्नो विमति सार्वजनिक गर्दै आएका छन् । एमसीसी संसदबाट अनुमोदन भइसकेपछि आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले नारायणकाजीलाई लक्षित गर्दै पार्टीबाट अलग हुन खोजेको भए कसैले पनि नरोक्ने अभिव्यक्ति दिएपछि यी दुई नेताबीच मतभेद बढेको हो ।
प्रचण्डले नारायणकाजीलाई यदि एमसीसीको बारेमा धारणा राख्ने भए पार्टीभित्र राख्न आग्रह गरेका छन् । तर बाहिरीरुपमा पार्टीको बदनाम हुने गरी एमसीसीको विपक्षमा भाषण नगर्न समेत सुझाव दिएका छन् । तर पछिल्लो समय नारायणकाजीले पार्टी छोड्ने संकेत गरेपछि प्रचण्ड उनलाई फकाउनको लागि सक्रिय देखिएका छन् । बिहीबार बिहानको छलफलमा प्रचण्डले पार्टीबाट अलग नहुन आग्रह गरेका छन् । तर श्रेष्ठले “मलाई अलग हुने मन नहुँदा नहुँदै पनि तपाईंले नै अलग्याउन खोज्नुभएको छ” भनेको स्रोतले जानकारी दियो ।
नारायणकाजीलाई फकाउने प्रयासमा यसअघि अध्यक्ष प्रचण्ड र वर्षमान पुनले नारायणकाजीको निवास हात्तीवनमा पुगेर छुट्टाछुट्टै छलफल गरेका थिए । प्रचण्डले एमसीसीमा मतभेद भएपनि अरू विषयमा मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए ।
माओवादीको विवादमा विप्लवको इन्ट्री
नेकपा माओवादी केन्द्रको विवादमा नेत्रविक्रम चन्द ‘विप्लव’ ले इन्ट्री गरेका छन् । असन्तुष्ट वरिष्ठ नेता श्रेष्ठले बुधबार विप्लवसँग गरेको संवादलाई अर्थपूर्णरुपमा हेरिएको छ । बुधबार भएको संवादमा यी दुबै नताले सहकार्यका लागि प्रस्ताव गरेका छन् । एमसीसी अनुमोदनपछि असन्तुष्ट रहेका नेता श्रेष्ठलाई पार्टी एकता गर्ने प्रस्ताव लिएर विप्लव उनकै निवासमा पुगेका थिए । श्रेष्ठले पूर्व एकता केन्द्र ब्युताउने तयारी गरिरहेका बेला विप्लवले उनीसँग भेटवार्ता गरेका हुन् ।
यो संवादसँगै माओवादी केन्द्रभित्रको विवाद नयाँ मोडमा प्रवेश गर्न सक्ने अडकलबाजी हुन थालेको छ । एमसीसीलाई लिएर नारायणकाजी श्रेष्ठले कडा विरोध जनाएपछि अध्यक्ष प्रचण्डले पार्टी छाडेर जाने भए रोक्न नसक्ने अभिव्यक्ति दिएपछि नेता श्रेष्ठ चिढिएका हुन् ।
माओवादी जनयुद्धमा आफ्नो साथमा रहेका नेत्रविक्रम चन्द विप्लवले प्रचण्डलाई थप तनाब दिएका छन् । विप्लवले पछिल्लो समय प्रचण्ड पतनको बाटोमा पुगेको समेत दाबी गरेका थिए । पार्टीभित्र विवाद बढेपछि नारायणकाजीसँग विप्लवले छलफल चलाएपछि प्रचण्डलाई फेरि चुनौती थपिएको छ ।