नेपाली कांग्रेस सिन्धुलीको सभापतिमा उपेन्द्रकुमार पोखरेल विजयी भएका छन्। उनले सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालानिकट उम्मेदवारलाई हराउँदै जित निकालेका हुन्।
उनीसँग प्रतिस्पर्धा गरेका देउवानिकट उम्मेदवार प्रेमचन्द्र दाहाल पहिलो चरणमै पराजित भएका थिए।
पोखरेलले दोस्रो चरणमा शेखर कोइरालानिकट उज्जवलप्रसाद बराललाई ४ सयभन्दा धेरै मतले हराएका हुन्। पहिलो चरणमा पराजित देउवानिकट दाहालले पनि दोस्रो चरणमा साथ दिएपछि पोखरेलको फराकिलो जित सम्भव भएको हो।
पोखरेलले सोमबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा कोइरालानिकट बराललाई ४ सयभन्दा बढी मतले पराजित गरे। पोखरेलले ८ सय ८५ मत ल्याउँदा निवर्तमान सभापति बरालले ४ सय ७७ मत पाए।
दोस्रो चरणमा खसेको कुल मत १ हजार ३ सय ७१ मध्ये ९ मत बदर भयो। त्यसअघि आइतबार भएको जिल्ला अधिवेशनमा सभापति पदमा ५ जना उम्मेदवार मैदानमा थिए।
पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि सोमबार दोस्रो चरणको निर्वाचन भएको थियो।
पहिलो चरणको निर्वाचनमा पोखरेलले ४ सय ८३, बरालले ४ सय २७, प्रेमचन्द्र दाहालले ३ सय ६१, खड्गबहादुर वाइवाले १ सय १ र विश्वनाथ कोइरालाले १६ मत प्राप्त गरेका थिए।
भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीति सुरु गरेका पोखरेल पछिल्लो समय पार्टीको जिल्ला सदस्य थिए।