महेन्द्रनगर प्रदेश सम्मेलन उद्घाटन भएको करिब तीन महिनापछि नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशको नयाँ कमिटी गठन गरिएको छ। आकांक्षीबीच सहमति नजुटे पछि निर्वाचन प्रक्रियाबाट नयाँ कमिटी गठन गरिएको हो।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा हरिराम चौधरी निर्वाचित भएका छन्। सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीलाई पराजित गर्दै चौधरी अध्यक्षमा निर्वाचित भएका हुन।
प्रदेश निर्वाचन समितिका अनुसार खसेको २१० मतमध्ये अध्यक्षमा निर्वाचित चौधरीले ११४ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी पर्यटनमन्त्री धामीले ९३ मत मात्रै ल्याउन सके।
यस्तै उपाध्यक्षमा मानसिंह मालले १२४ मत, रणबहादुर कुँवर १०१ र अक्कल रावल १०० मत सहित निर्वाचित भएका छन् । उपाध्यक्षका प्रतिस्पर्धी लोकबहादुर बोहरा, मिनबहादुर घर्ती र दुर्गा बडुवालले क्रमशः ७२, ५६ र ३५ मत प्राप्त गरेका थिए।
सचिवमा १६४ मत ल्याएर जनकबहादुर बुढा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी अमरसिंह चौधरीले ३८ मत मात्रै प्राप्त गरे।
यस्तै सहसचिवमा नन्दबहादुर साउद, रामबहादुर देवकर र अन्जिता श्रेष्ठ क्रमशः १५७, १४६ र १०८ मत सहित विजयी भएका छन् । सहसचिवका प्रतिस्पर्धी प्रेमा कुमारी ओली र अमित दहितले क्रमशः ८६ र ६५ मत प्राप्त गरेका थिए।
कोषाध्यक्षमा कमल कुमारी शाह ११३ मत सहित निर्वाचित भएकी छन्। उनका प्रतिस्पर्धी विनिता बिकले ८४ मत मात्रै पाइन्।
मंसिर २४ र २५ गते धनगढीमा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको पहिलो प्रदेश सम्मेलन आयोजना गरिएको थियो। तर, नेतृत्वका आकाँक्षीले आफ्नो दाबीबाट पछि नहट्दा प्रदेशले सम्मेलन भएको तीन महिनासम्म नयाँ नेतृत्व पाउन सकेको थिएन।