काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चैत २० गते केन्द्रीय समिति बैठक डाकेको छ । पार्टी कार्यालय मुख्यसचिव कृष्ण पौडेलले नेताहरुबीच यही चैत २० गते केन्द्रीय समिति बैठक राख्ने समझदारी भएपछि सभापतिले मिति तय गरेको जानकारी दिए ।
आगामी भदौ ७ देखि १० गतेसम्म तोकिएको कांग्रेसको महाधिवेशनको कार्यातालिका सुरुवातमै प्रभावित भएको छ । एक वर्षअघि नै सक्नुपर्ने संघीय संरचना अनुरुप पार्टी समायोजनको काम अझै तीन जिल्लामा टुंगिएको छैन ।
सप्तरी, सिन्धुपाल्चोक र बारामा समायोजनको काम आन्तरिक विवादका कारण हुन नसेपछि फागुन १५ गते भित्र टुंग्याउने गरी निर्वाचन समितिलाई जिम्मा दिइएको थियो । तर, दुई जिल्लामा विवाद समाधान अन्तिम चरणमा पुगे पनि नेताहरुकै हस्ताक्षेपका कारण सिन्धुपाल्चोकमा भने विषय प्रवेश गर्नसमेत नपाएको निर्वाचन समितिका सदस्यले जनाएका छन् ।
कांग्रेसको महाधिवेशनका लागि सबैभन्दा प्राथमिक काम क्रियाशील सदस्यता टुंगो लगाउने हो । करिव पाँच लाख क्रियाशील सदस्य रहेको कांग्रेसले त्यसलाई दोब्बर गर्ने निर्णय गरेको छ । तर, अहिलेसम्म करिव ३३ प्रतिशत हाराहारीमा मात्र सदस्यताको टुंगो लागेको छ ।
पुराना सदस्यहरुको नवीकरणको विवरण ७७ जिल्ला र नयाँ सदस्यको विवरण १६५ क्षेत्रबाटै इन्ट्री गर्नेगरी सफ्टवेर बनाएको कांग्रेसको अहिलेसम्म ६९ जिल्लाबाट मात्र इन्ट्री भएको छ । जम्मा २०७ स्थानबाट इन्ट्री भएर टुंगिनुपर्ने सदस्यता विवरण ६९ स्थानबाट मात्र इन्ट्री सुरु हुँदा कहिले सदस्यताका विषय टुंग्याउने भन्न नसक्ने अवस्था आएको केन्द्रीय सदस्यता छानविन समितिका संयोजक रमेश लेखकको भनाइ छ ।
समिति सदस्य प्रदीप पौडेल विगतमा ४७२ हजार सदस्यता छानविनका लागि तीन महिना लागेको भन्दै अहिले करिव १० लाख सदस्य हुने भएकाले त्यो समय बढी लाग्न सक्ने बताउँछन् ।
महाधिवेशनका लागि विधानले तोकेको वैकल्पिक व्यवस्थाको समयसीमा समेत पार गरेर संविधानले दिएको अवधिको अन्तिमतिर महाधिवेशन घोषणा गरेको कांग्रेसमा कार्यतालिका पालनामा प्रश्न उठेपछि अन्तिम कार्यतालिकासमेत प्रभावित हुने र पार्टी अवैधानिक हुने चिन्ता बढेको छ ।