काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिबारे समीक्षा गर्दै नेपाल सरकार, मन्त्रिपरिषद्को आपत्कालीन बैठक सम्पन्न भएको छ।
सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, सुरक्षित स्थानान्तरण तथा राहत कार्यलाई तीव्रता दिने विषयमा आवश्यक निर्णय गरेको छ।
बैठकले प्रभावित नागरिकको उद्धार तथा सुरक्षित स्थानान्तरणलाई प्राथमिकतामा राख्दै राहत वितरण, स्वास्थ्य सेवा, सूचना तथा सञ्चार व्यवस्थापन र आवश्यक जनशक्ति परिचालनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।
त्यस्तै, विपद् व्यवस्थापनका लागि आवश्यक बजेट तथा स्रोत–साधनको व्यवस्थापन, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा आवश्यक संरचना निर्माणका विषयमा सम्बन्धित मन्त्रालयहरूले तत्काल काम अघि बढाउने निर्णय भएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा सरकारी निकायबीच प्रभावकारी समन्वय कायम गरी उद्धार तथा राहतलाई थप व्यवस्थित बनाउने र आवश्यकताअनुसार थप स्रोत तथा जनशक्ति परिचालन गर्ने तयारीसमेत गरिएको छ।
सरकारले प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने तथा विपद्को अवस्थाबारे नियमित सूचना प्रवाह गर्ने विषयलाई समेत प्राथमिकतामा राखेको छ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहित आसपासका क्षेत्रमा जनधन तथा भौतिक संरचनामा क्षति पुगेको अवस्थामा सरकारले आपत्कालीन व्यवस्थापनलाई तीव्रता दिएको हो।