हेटौंडा, भदौ ४ — बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष मुख्यमन्त्री थापा मगरले बिहीबार शपथ लिएका हुन्। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापा मगर बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन्।
मुख्यमन्त्रीमा नियुक्त हुन थापा मगरले नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेशसभा सदस्यहरूको समर्थनसहित दाबी पेस गरेका थिए। बागमती प्रदेशसभामा सरकार गठनका लागि आवश्यक बहुमत जुटेपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
शपथ ग्रहणसँगै मुख्यमन्त्री थापा मगरले प्रदेश सरकारको नेतृत्व सम्हालेका छन्। उनले त्यसपछि मन्त्रिपरिषद्समेत विस्तार गरेका छन्। एमाले, नेकपा र राप्रपाबाट गरी ६ जना मन्त्री नियुक्त गरिएको छ।
मन्त्रिपरिषद् विस्तारअन्तर्गत एमालेबाट भरत केसीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र ज्ञानबहादुर तामाङलाई हालका लागि बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ। नेकपाबाट सरल सहयात्री पौडेललाई आर्थिक मामिला तथा योजना मन्त्री बनाइएको छ।
त्यस्तै, राप्रपाबाट राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ, गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।
बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ मन्त्रालय छन्। मन्त्रिपरिषद् विस्तारपछि पनि केही मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी रहेको जनाइएको छ।