वासिङ्टन । अमेरिकाको कुल राष्ट्रिय ऋण पहिलोपटक ४० ट्रिलियन अमेरिकी डलर अर्थात् ४० खर्ब डलरभन्दा माथि पुगेको छ। अमेरिकी ट्रेजरी विभागका अनुसार अगस्ट १८ सम्म कुल सार्वजनिक ऋण ४०.०४७ ट्रिलियन डलर पुगेको हो।
ट्रेजरीको तथ्यांकअनुसार उक्त ऋणमध्ये करिब ३२.२६६ ट्रिलियन डलर सर्वसाधारण तथा लगानीकर्तासँग रहेको सार्वजनिक ऋण हो भने ७.७८२ ट्रिलियन डलर अन्तरसरकारी ऋण रहेको छ। अमेरिकाको ऋण सन् २०२२ को जनवरीमा ३० ट्रिलियन डलर पुगेको थियो। त्यसयता करिब चार वर्षमै थप १० ट्रिलियन डलर बढेको हो।
अमेरिकी ऋण पछिल्लो दशकमा तीव्र रूपमा बढेको देखिन्छ। सन् २०१७ को जनवरीमा डोनाल्ड ट्रम्प पहिलोपटक राष्ट्रपति बन्दा अमेरिकी राष्ट्रिय ऋण करिब १९.९५ ट्रिलियन डलर थियो। त्यसयता ऋण दोब्बरभन्दा बढी भएको छ। कोभिड–१९ महामारीका समयमा गरिएको ठूलो सरकारी खर्च, कर तथा खर्चसम्बन्धी नीतिहरू, सामाजिक सुरक्षा र स्वास्थ्य कार्यक्रमको बढ्दो लागत तथा ऋणको ब्याज खर्चलाई ऋण वृद्धिका प्रमुख कारण मानिएको छ।
ऋण बढ्दै जाँदा त्यसमा तिर्नुपर्ने ब्याज पनि अमेरिकी सरकारका लागि ठूलो वित्तीय भार बनेको छ। उच्च ऋण र ब्याजदरका कारण अमेरिकी ट्रेजरी बन्डको दीर्घकालीन प्रतिफलसमेत बढेको छ। अगस्ट १८ मा ३० वर्षे अमेरिकी ट्रेजरी बन्डको प्रतिफल ५.३ प्रतिशतभन्दा माथि पुगेको थियो, जुन करिब दुई दशकयताकै उच्च स्तर हो।
विश्लेषकहरूले ऋणको वृद्धि निरन्तर भइरहेमा सरकारको वित्तीय लचकता कमजोर हुन सक्ने र भविष्यमा ऋण व्यवस्थापन थप चुनौतीपूर्ण बन्न सक्ने चेतावनी दिएका छन्। अमेरिकी सरकारले खर्च, राजस्व र ऋण व्यवस्थापनमा दीर्घकालीन सुधार गर्नुपर्ने दबाब बढेको छ।
अमेरिकी ऋण ४० ट्रिलियन डलर पुग्नु विश्व अर्थतन्त्रका लागि समेत महत्वपूर्ण घटना मानिएको छ। अमेरिकी ट्रेजरी बन्ड विश्व वित्तीय प्रणालीको प्रमुख लगानी साधन भएकाले अमेरिकी ऋण तथा ब्याजदरमा हुने परिवर्तनले विश्वका वित्तीय बजार, लगानी र मुद्रा बजारमा प्रभाव पार्न सक्छ।