काठमाडौं । कृषि विकास बैंक लिमिटेड र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै स्वास्थ्य र बैंकिङ सेवामा विशेष छुट तथा सुविधा उपलब्ध गराउने उद्देश्यले द्विपक्षीय समझदारी भएको छ।
टोखा, काठमाडौंस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भएको कार्यक्रममा कृषि विकास बैंकका उपमहाप्रबन्धक सुशिल हुंमागाइ र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मुख्य सञ्चालन अधिकृत (COO) कर्णेल अमृत खन्नाले समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेका हुन्।
समझदारीअनुसार अब कृषि विकास बैंकका बहालवाला तथा पूर्व कर्मचारी र उनीहरूका आश्रित परिवारका सदस्यले ग्रान्डी अस्पतालबाट प्राप्त हुने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट तथा सहुलियत पाउनेछन्। त्यसैगरी, ग्रान्डी अस्पतालमा कार्यरत चिकित्सक, नर्स, प्यारामेडिक्स तथा अन्य कर्मचारीले कृषि विकास बैंकका विभिन्न वित्तीय सेवामा विशेष सुविधा प्राप्त गर्नेछन्।
बैंकका कर्मचारीलाई स्वास्थ्य सेवामा सहुलियत
समझदारीको महत्वपूर्ण पक्षका रूपमा कृषि विकास बैंकका कर्मचारी तथा परिवारजनका लागि ग्रान्डी अस्पतालले स्वास्थ्य उपचारसँग सम्बन्धित विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने भएको छ।
अस्पतालले ल्याब परीक्षण, एक्स–रे, भिडियो एक्स–रेलगायतका विभिन्न परीक्षण, बेड चार्ज, शल्यक्रिया तथा वेलनेस प्याकेजमा सहुलियत प्रदान गर्नेछ। यसले बैंकका कर्मचारी र उनीहरूका आश्रित परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवामा तुलनात्मक रूपमा सहज पहुँच स्थापित गर्ने अपेक्षा गरिएको छ।
समझदारीमा टेलि–कन्सल्टेसन तथा आपतकालीन उद्धार सेवामा समेत प्राथमिकता र सहुलियतको व्यवस्था गरिएको छ। सडक तथा हेलिकप्टरमार्फत गरिने आपतकालीन उद्धार सेवासँगै स्वास्थ्य सचेतना कार्यक्रमलाई समेत सहकार्यको दायरामा समेटिएको छ।
ग्रान्डीका कर्मचारीलाई बैंकिङ सेवामा विशेष सुविधा
समझदारीको अर्को महत्वपूर्ण पक्षमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका कर्मचारीका लागि कृषि विकास बैंकले विभिन्न बैंकिङ सेवामा छुट तथा सहुलियत दिने व्यवस्था गरेको छ।
अस्पतालका चिकित्सक, नर्स, प्यारामेडिक्स तथा अन्य कर्मचारीले कृषि विकास बैंकका शाखामार्फत डिजिटल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड, लकरलगायतका सेवामा विशेष सुविधा प्राप्त गर्न सक्नेछन्।
त्यसैगरी घर, सवारी तथा शिक्षा कर्जालगायत विभिन्न कर्जामा लाग्ने सेवा शुल्क तथा प्रिमियम दरमा समेत विशेष छुट उपलब्ध गराइनेछ। वैदेशिक मुद्रा सटही तथा रेमिट्यान्स सेवामा पनि अस्पतालका कर्मचारीलाई विशेष सहुलियत प्रदान गर्ने व्यवस्था गरिएको छ।
कर्मचारी कल्याणसँगै संस्थागत सम्बन्ध विस्तारको अपेक्षा
कृषि विकास बैंक र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच भएको यस सहकार्यलाई दुवै संस्थाका कर्मचारीको कल्याणसँग जोडिएको संस्थागत साझेदारीका रूपमा हेरिएको छ।
स्वास्थ्य र वित्तीय सेवा क्षेत्रका दुई संस्थाबीच भएको समझदारीले कर्मचारीलाई प्रत्यक्ष लाभ पुर्याउनुका साथै दुवै संस्थाबीचको संस्थागत सम्बन्धलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ। साथै, सेवा आदानप्रदान, ग्राहक सुविधाको विस्तार र दीर्घकालीन व्यावसायिक सहकार्यका लागि समेत यसले आधार तयार गर्ने विश्वास गरिएको छ।
सम्झौता कार्यान्वयनसँगै दुवै संस्थाका कर्मचारीले आ–आफ्नो संस्थाको आधिकारिक परिचयपत्र प्रस्तुत गरी समझदारीमा उल्लेख गरिएका सेवा तथा छुट सुविधाहरू उपयोग गर्न सक्नेछन्।
कार्यक्रममा कृषि विकास बैंकका विभागीय प्रमुख वीना शर्मा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल तथा व्यवसाय अधिकृत मणिराज ढुंगानाको उपस्थिति थियो। त्यस्तै, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका सहायक महाप्रबन्धक अर्चना प्रधान, वरिष्ठ अधिकृत मौलिका देउजा तथा अधिकृत माधव शर्मालगायतको सहभागिता रहेको थियो।
यस समझदारीले एकातर्फ कृषि विकास बैंकका कर्मचारी र उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा सहुलियतपूर्ण पहुँच विस्तार गर्नेछ भने अर्कोतर्फ ग्रान्डी अस्पतालका कर्मचारीलाई आधुनिक बैंकिङ तथा वित्तीय सेवासँग जोड्ने वातावरण निर्माण गर्ने देखिन्छ। दुवै संस्थाले यसलाई कर्मचारी हित र संस्थागत सहकार्यलाई एकसाथ अघि बढाउने कदमका रूपमा लिएका छन्।