काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आमनागरिक, राजनीतिक दल, नागरिक समाज, धार्मिक समुदाय, सञ्चारमाध्यम र सरोकारवाला सबैलाई संयमता अपनाई शान्ति, सद्भाव, भाइचारा र राष्ट्रिय एकता कायम राख्न आह्वान गर्नुभएको छ ।
बिहीवार राष्ट्रकाम नाममा सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । उहाँले प्रत्येक नागरिकको जिउधनको सुरक्षा, सामाजिक सद्भाव र सार्वजनिक शान्ति कायम गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै उक्त कुरामा सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा पालना गर्ने मौलिक अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै कुनै एक स्थानमा भएको घटनाको आधारमा सम्पूर्ण समुदायलाई दोषारोपण गर्ने वा हिंसा फैलाउने कार्य न्यायोचित नहुने बताउनुभयो । उहाँले सुनसरीको देवानगन्ज र सिराहालगायत क्षेत्रमा भएको हिंसात्मक घटनामा संलग्नलाई कानूनी कारबाही गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले उक्त घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण तथा पीडित परिवारप्रति समवेदना व्यक्त समेत गर्नुभयो । घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्य निकायलाई निर्देशन दिइएको र सुरक्षा निकायलाई थप अप्रिय घटना रोक्न निर्देशनसहित परिचालन गरिसकिएको समेत प्रधानमन्त्री शाहले बताउनुभयो । उहाँले घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयमार्फत छानबिन समिति गठन भइसकेको जानकारी समेत गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ । म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ । घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ । अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ । परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ । स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ । स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं सो स्थानमा पुगिसक्नुभएको छ । साथै देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकिएको छ । यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदाय बीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचारप्रसार नगर्न, नगराउन अनुरोध गर्दछु । साथै सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु ।’
उहाँले सामाजिक सञ्जालमा आएका अपुष्ट समाचारमाथि विश्वास नगर्न समेत सबैमा आग्रह गर्नुभयो ।