काठमाडौं, जेठ २१
कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका–७, टोखा स्थित टिलिङ्गटार माध्यमिक विद्यालयमा अध्ययनरत ३२ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति वितरण गरेको छ।
आदर्श समाज टिलिङ्गटारको आयोजनामा सम्पन्न कार्यक्रममा कक्षा ६ देखि कक्षा १२ सम्म अध्ययनरत आर्थिक रूपमा कमजोर तथा प्रतिभाशाली विद्यार्थीहरूलाई छनोट गरी छात्रवृत्ति प्रदान गरिएको हो।
कार्यक्रमका अध्यक्ष तथा आदर्श समाज टिलिङ्गटारका अध्यक्ष सरोजकुमार पाण्डेले कृषि विकास बैंकको सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै बैंकप्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे।.jpg)
कार्यक्रममा बोल्दै कृषि विकास बैंकका उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेले छात्रवृत्तिले विद्यार्थीहरूको शैक्षिक यात्रामा थप हौसला मिल्ने, अध्ययनप्रति उत्साह बढ्ने तथा उत्कृष्ट नतिजा हासिल गर्न प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे। बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको उनले बताए।
कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी रहेका थिए। कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईं, विभागीय प्रमुख बिना शर्मा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारोत्तम राना, वडा नं. ७ का वडा अध्यक्ष, टोखा नगरपालिकाका कार्यकारी प्रमुख कमल भट्टराई, शिक्षा शाखा प्रमुख, समाजसेवी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले बैंकको सहयोगले आफ्नो अध्ययनलाई थप सहज र प्रभावकारी बनाउन मद्दत पुग्ने बताएका थिए। कृषि विकास बैंकले आगामी दिनमा पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ।