काठमाडौँ, ६ जेठ
सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ।
प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उहाँले प्रेसलाई नियन्त्रण गर्ने कुनै मनसाय सरकारको नरहेको स्पष्ट पार्नुभयो। “प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता होइन, त्यसमा जिम्मेवारी र जवाफदेहिता पनि आवश्यक हुन्छ,” उहाँले भन्नुभयो।
उहाँले संविधानले प्रत्याभूत गरेको अधिकारका कारण सरकारले प्रेस स्वतन्त्रताविरुद्ध कुनै कदम चाल्न नसक्ने उल्लेख गर्दै सञ्चारकर्मीहरूलाई आफ्नो मर्यादा र सीमाभित्र रहेर जिम्मेवार ढंगले काम गर्न आग्रह गर्नुभयो।
मन्त्री तिमिल्सिनाले प्रेस काउन्सिलको क्षमता अभिवृद्धि गरी मिडिया क्षेत्रलाई स्वच्छ, जवाफदेही र विश्वसनीय बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। त्यसअनुसार आवश्यक कार्यक्रम ल्याइने उहाँको भनाइ थियो।
उहाँले संगीत, कला तथा चलचित्र क्षेत्रको विकासका लागि पनि सरकार सक्रिय रहेको उल्लेख गर्दै मौलिक चलचित्रलाई प्रोत्साहन र सहुलियत दिने नीति ल्याइने जानकारी दिनुभयो।
संसदीय बिटमा समाचार संकलन गर्ने पत्रकारहरूको व्यवस्थापन सुधार गर्ने काम भइरहेको बताउँदै उहाँले संसद् सचिवालयले केही काम अघि बढाइसकेको र आगामी दिनमा थप सुधार गरिने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै, रिमोट वर्क र एकीकृत सूचना प्रणालीसम्बन्धी नीतिगत तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। सूचनाको हक सुनिश्चित गर्दै नागरिकलाई सूचना पहुँच सहज बनाउने काम पनि भइरहेको उहाँको भनाइ थियो।
सूचना प्रविधि क्षेत्रलाई ‘टेक हब’ का रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताउँदै उहाँले दुर्गम क्षेत्रमा इन्टरनेट पहुँच विस्तार, डिजिटल सेवा प्रवर्द्धन र नेटवर्क सुदृढीकरणका काम तीव्र रूपमा अघि बढाइएको उल्लेख गर्नुभयो।
उहाँले आगामी एक वर्षभित्र दुर्गमदेखि सुगम सबै क्षेत्रमा स्तरीय मोबाइल नेटवर्क र फोरजी सेवा विस्तार गर्ने लक्ष्य रहेको पनि जानकारी दिनुभयो।