काठमाडौँ, ३ जेठ
सरकारले देशमा हाल करिब आठ महिनासम्मका लागि पुग्ने चिनी मौज्दात रहेको जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनीलगायत अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति सहज र मूल्य स्थिर राख्न आवश्यक पहल निरन्तर जारी रहेको बताएको हो।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले उपभोक्ता तथा सरोकारवालालाई चिनीलगायत दैनिक उपभोग्य वस्तुको अनावश्यक सञ्चिति नगर्न आग्रह गर्नुभएको छ। भारत सरकारले वैशाख ३० गतेदेखि चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि उत्पन्न अवस्थाप्रति सरकार सचेत रहेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।
हाल सञ्चालनमा रहेका स्वदेशी चिनी उद्योगमा उत्पादित चिनी र आयात भइसकेको परिमाणलाई आधार मान्दा बजारको माग धान्न पर्याप्त मौज्दात रहेको मन्त्रालयको दाबी छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड तथा निजी क्षेत्रसँग रहेको चिनीले करिब आठ महिनासम्मको माग पूर्ति गर्न सक्ने उल्लेख गरिएको छ।
यसअघि नेपाल चिनी उत्पादक संघले पनि बजारमा चिनी अभाव नरहेको र मूल्य वृद्धि नगरिएको स्पष्ट पारेको थियो। संघका अनुसार उद्योगहरूमा हाल करिब एक लाख आठ हजार मेट्रिक टन चिनी मौज्दात छ भने बजारमा थप २० हजार मेट्रिक टन चिनी उपलब्ध रहेको छ।
मन्त्रालयले चिनीको मूल्य नियन्त्रण तथा कृत्रिम अभाव हुन नदिन बजार अनुगमनलाई तीव्र बनाइने जनाएको छ। साथै, दीर्घकालीन रूपमा चिनीमा आत्मनिर्भर बन्न उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने योजना कार्यान्वयन भइरहेको बताइएको छ।
उखु उत्पादन वृद्धि गर्न कृषि मन्त्रालयले उन्नत जातको उखु प्रवर्द्धन, आधुनिक प्रविधिको प्रयोग र किसानलाई सहजीकरण गर्ने कार्यक्रम अघि बढाएको जनाएको छ।