काठमाडौँ,३० वैशाख
कृषि विकास बैंक लिमिटेड र काठमाडौं मेडिकल कलेज दुवाकोट बीच स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
२०८३ साल वैशाख ७ गते भएको सम्झौताअनुसार कृषि विकास बैंकका ग्राहक, कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता, कर्मचारी, पूर्व कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूले काठमाडौं मेडिकल कलेज दुवाकोटमा उपचार गर्दा विशेष छुट सुविधा प्राप्त गर्नेछन्।
काठमाडौं मेडिकल कलेजले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुका साथै चिकित्सा, नर्सिङ, डेन्टललगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ–संस्थामा आवद्ध व्यक्तिलाई उपचारमा सहुलियत प्रदान गर्दै आएको जनाएको छ। कृषि क्षेत्रको उत्थान तथा विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कृषि विकास बैंकसँगको यस सहकार्यले बैंकसँग आवद्ध सेवाग्राही र कर्मचारीलाई स्वास्थ्य सेवामा थप राहत पुग्ने विश्वास गरिएको छ।
सम्झौताअनुसार बैंकसँग आबद्ध सेवाग्राहीलाई अस्पतालका विभिन्न स्वास्थ्य सेवामा पहिलो प्राथमिकताका आधारमा अधिकतम २५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ । छुट सुविधा लिनका लागि बैंकको चेकबुक, मान्य डेबिट वा क्रेडिट कार्ड, मोबाइल बैंकिङ एप वा खातासम्बन्धी अन्य प्रमाण पेश गर्नुपर्नेछ।
त्यस्तै, कर्मचारी तथा परिवारका सदस्यहरूले फोटोसहितको परिचयपत्र, पूर्व कर्मचारी परिचयपत्र तथा नाता प्रमाणित कागजात वा बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
काठमाडौं मेडिकल कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत सर्वसाधारणका लागि समेत विशेष योजना ल्याउँदै २०८३ असार मसान्तसम्म सीटी स्क्यान र एमआरआई बाहेकका सेवामा ५० प्रतिशतसम्म छुट दिने जनाएको छ।
कलेजले गुणस्तरीय चिकित्सा सेवा प्रदान गर्दै चिकित्सा, नर्सिङ तथा डेन्टललगायत शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।