काठमाडौं, २८ वैशाख
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्नेछ।
आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसका लागि सङ्घीय संसद्का सदस्यलाई अपराह्न ३ः४५ बजेसम्म प्रतिनिधिसभा कक्ष (बहुउद्देश्यीय हल), सिंहदरबारमा उपस्थित हुन आग्रह गरिएको छ।
बजेट अधिवेशनमा नियमित विधायिकी कामसँगै संविधान, कानुन र संसद् नियमावलीले तोकेका विभिन्न दायित्व पूरा गर्नुपर्नेछ। यस वर्ष अधिवेशन केही ढिला गरी आह्वान भएकाले संसद्माथि कार्यतालिकाको दबाबसमेत बढेको छ।
संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत गर्नेछ। असार मसान्तभित्र बजेट पारित र प्रमाणीकरणको प्रक्रिया पूरा गर्नुपर्नेछ। नीति तथा कार्यक्रम पनि यही अधिवेशनमा पेस र स्वीकृत हुने कार्यसूची छ।
प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार बजेट प्रस्तुत हुनुभन्दा कम्तीमा १५ दिनअघि पूर्वबजेट छलफल सम्पन्न गर्नुपर्ने व्यवस्था भए पनि यस पटक आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसारको समयसीमामा आधारित भएर जेठ महिनामा पूर्वबजेट छलफल गरिने भएको छ। प्रतिनिधिसभाको कार्यतालिका अनुसार वैशाख ३१ गते पूर्वबजेट संसद्मा पेस हुनेछ भने जेठ ४, ५ र ६ गते छलफल र पारितको प्रक्रिया सम्पन्न गरिनेछ।
यसैबीच संसद् अधिवेशन नरहेका बेला राष्ट्रपतिबाट जारी गरिएका आठ वटा अध्यादेश पनि आज दुवै सदनमा पेस गरिनेछन्। संवैधानिक व्यवस्था अनुसार ती अध्यादेश संसद्मा पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित र प्रमाणीकरण गर्नुपर्नेछ।