काठमाडौं, २७ वैशाख
सरकारले भोली सोमबारदेखि जेठ १ गतेसम्म देशभरका सङ्घ, प्रदेश र स्थानीय तहका सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन गर्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गनिर्देशन–२०८३ जारी गर्दै कार्यक्रम कार्यान्वयनका लागि सबै तहका सरकारी निकायलाई पत्राचार गरिसकेको जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत सुवर्ण बज्राचार्यका अनुसार सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्नुका साथै सरसफाइसम्बन्धी व्यवहार विकास गर्ने उद्देश्यले सप्ताह सञ्चालन गर्न लागिएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सोमबार बिहान ८ः३० बजे वीर अस्पतालबाट सप्ताहको औपचारिक शुभारम्भ गरिने मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार सोही समयमा देशभरका सबै अस्पतालमा पनि सरसफाइ सप्ताह सुरु गरिनेछ।
मन्त्रालयले सप्ताहभरि दैनिक रूपमा सरसफाइ कार्यक्रममा सक्रिय सहभागिता जनाउन सबैलाई आग्रह गरेको छ।
सरकारले जारी गरेको मार्गनिर्देशनमा कार्यालय सरसफाइ मापन, शौचालय तथा स्वच्छता मापन, शैक्षिक संस्था र सार्वजनिक स्थलको सरसफाइ, क्यान्टिन तथा भान्साघरको स्वच्छता, फोहर व्यवस्थापन, सेवाग्राही अनुभव तथा संस्थागत दिगोपनसम्बन्धी सूचक अनिवार्य रूपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ।