काठमाडौँ, २४ वैशाख
डा. विक्रम तिमिल्सिनाले सूचना प्रविधिको तीव्र विकास र डिजिटल मिडियाको बढ्दो प्रभावसँगै सञ्चारमाध्यमले नागरिकको आवाज र सामाजिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ।
गोरखापत्र संस्थान को १२६औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा मन्त्री तिमिल्सिनाले सञ्चारमाध्यमप्रति नागरिकको विश्वास र अपेक्षालाई प्राथमिकतामा राखेर जिम्मेवार पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले सरकारी संस्थानलाई समयानुकूल, व्यावसायिक र उत्तरदायी बनाउनु आवश्यक रहेको उल्लेख गर्दै संस्थानको हितका लागि कर्मचारीले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो। लामो समयदेखि देखिएका समस्या मात्रै औँल्याएर नहुने भन्दै समाधानमुखी सोच र कार्यशैली अपनाउन कर्मचारीलाई आग्रह गर्नुभयो।
मन्त्री तिमिल्सिनाले गोरखापत्र संस्थानको पुनर्संरचना अपरिहार्य भएको उल्लेख गर्दै नेपालको भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण, प्रयोग र प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।
गोरखापत्रको ऐतिहासिक योगदान स्मरण गर्दै उहाँले समयसँगै पत्रकारिताको शैली, प्रविधि र कार्यप्रणालीमा व्यापक परिवर्तन आएको धारणा राख्नुभयो। अन्य सञ्चारमाध्यमभन्दा गोरखापत्रलाई कसरी थप प्रभावकारी, विश्वसनीय र फरक बनाउने भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको उहाँको भनाइ थियो।
“आज भनेको भोलिको इतिहास हो। आज गरेका असल कामले नै भविष्यको मार्गनिर्देश गर्छ। संस्थालाई गर्व गर्नलायक बनाउने गरी काम गर्नुहोस्,” मन्त्री तिमिल्सिनाले भन्नुभयो।