काठमाडौँ, २४ वैशाख
राष्ट्रिय तथ्याङ्क कार्यालय ले देशभरका सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ।
कार्यालयअन्तर्गत आर्थिक गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकाल ले औपचारिक तथा अनौपचारिक क्षेत्रका आर्थिक कारोबार गर्ने सबै व्यापार–व्यवसाय तथा संस्थालाई गणना प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभएको हो।
देशको आर्थिक गतिविधिको यथार्थ विवरण सङ्कलन गरी आर्थिक नीति निर्माणमा आधार तयार गर्ने उद्देश्यले वैशाख २ गतेदेखि असार ७ गतेसम्म आर्थिक गणना सञ्चालन भइरहेको कार्यालयले जनाएको छ।
निर्देशक ढकालका अनुसार व्यावसायिक कृषि, खानी, उत्पादनमूलक उद्योग, व्यापार, निजी व्यवसाय, बैंक तथा सहकारीलगायत वित्तीय संस्था र अन्य व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क सङ्कलन भइरहेको छ।
हालसम्म करिब चार लाख ८० हजार दर्ता भएका व्यापारिक संस्था आर्थिक गणनामा समावेश भइसकेका छन्। वैशाख २२ गतेसम्म देशभर ३२ प्रतिशत गणना सम्पन्न भएको जानकारी दिइएको छ।
नेपालमा पहिलो पटक विसं २०७५ मा आर्थिक गणना गरिएको थियो भने यसपटक दोस्रो चरणको गणना भइरहेको हो।
कार्यालयका अनुसार औपचारिक तथा अनौपचारिक उद्योग, व्यापार–व्यवसाय र सेवा क्षेत्रलाई समेट्न गणकहरू देशभर स्थलगत रूपमा खटिएका छन्। हालसम्म सात हजार ४५३ व्यावसायिक प्रतिष्ठानले अनलाइनमार्फत आफैँ विवरण भर्ने प्रतिबद्धता जनाएका छन् भने तीमध्ये एक हजार ६१५ प्रतिष्ठानले विवरण बुझाइसकेका छन्।