सुनसरी,२२ वैशाख
फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३औँ वार्षिक साधारण सभा सुनसरीको दुहवीमा सम्पन्न भएको छ। सभामा पूर्वमन्त्री भगवती चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा बोल्दै चौधरीले लघुवित्त कार्यक्रममार्फत ग्रामीण महिलाहरूको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थामा सकारात्मक परिवर्तन आएको उल्लेख गर्नुभयो। उहाँले ऋण मिनाहाको भ्रममा नपर्न आग्रह गर्दै कर्जालाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्न सदस्यहरूलाई सुझाव दिनुभयो। लघुवित्त क्षेत्र सुधारका लागि सञ्चालक, कर्मचारी र ग्राहक सबैको इमानदारी आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरीले विपन्न परिवारको जीवनस्तर उकास्न संस्थाले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो। निवर्तमान सञ्चालक आशुतोष शर्मा सापकोटाले लघुवित्त क्षेत्रमा देखिएका चुनौतीलाई सामना गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो भने नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराईले संस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सभाले अध्यक्ष केशवराज पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गरेको छ। साथै नयाँ सञ्चालकहरूको निर्वाचन गर्दै आगामी कार्यकालका लागि भगवती चौधरी, जगतजंग जीसी, बोधराज नेपाल, विष्णुप्रसाद ज्ञवाली र गोविन्द चौधरीलाई चयन गरिएको घोषणा गरिएको छ।
विशेष प्रस्तावअन्तर्गत संस्थापक र सर्वसाधारण शेयर संरचना क्रमशः ७०–३० प्रतिशतबाट ६०–४० प्रतिशत कायम गर्ने प्रस्ताव स्वीकृत गरिएको छ। साथै पुँजीवृद्धि, प्रबन्धपत्र संशोधन तथा अन्य लघुवित्त संस्थासँग गाभिनेरप्राप्ति गर्ने प्रस्तावहरू पनि पारित भएका छन्।
संस्थाले हालसम्म ४० जिल्लाका ३८२ स्थानीय तहमा १५९ शाखामार्फत दुई लाख ८४ हजारभन्दा बढी विपन्न परिवारलाई सेवा दिँदै आएको जनाएको छ। साथै २२ अर्बभन्दा बढी कर्जा लगानी र १० अर्बभन्दा बढी बचत सङ्कलन गरेको जानकारी दिइएको छ।