काठमाडौं, २२ वैशाख
नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण चैत २९–३० मा तय भएको साधारणसभा स्थगित भई सोमबार उद्घाटन सत्र सम्पन्न भएको थियो।
महासङ्घको संशोधित विधान ९२०८१० अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेकाले वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ आगामी अध्यक्षका रूपमा अघि बढ्ने हुनुभएको छ। यसपटक अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदका लागि प्रत्यक्ष मतदान हुने छैन भने वरिष्ठ उपाध्यक्ष कार्यसमितिबाट चयन गरिने प्रावधान छ। आजको निर्वाचन उपाध्यक्ष र कार्यसमिति सदस्य पदमा केन्द्रित रहनेछ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने मतदानमा कुल ७३ पदका लागि १३७ जना व्यवसायी प्रतिस्पर्धामा छन्। जिल्ला–नगर, वस्तुगत र एसोसिएट समूहअन्तर्गत विभिन्न पदमा प्रतिस्पर्धा हुनेछ भने महिला उपाध्यक्ष, कोषाध्यक्षलगायत केही पदका लागि छुट्टै निर्वाचन प्रक्रिया अपनाइनेछ।
निर्वाचनमा वर्तमान अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ पक्षले प्यानलसहित उम्मेदवारी दिएका छन्। निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ र दुई हजारभन्दा बढी मतदाता सहभागी हुने अपेक्षा गरिएको छ। मत परिणाम भने बुधबार सार्वजनिक गरिने जनाइएको छ।
महासङ्घको संरचनाअनुसार एसोसिएट समूहबाट १,८५०, जिल्ला–नगरबाट १२९, वस्तुगत संघबाट १०७, वस्तुगत महासङ्घबाट १७, द्विराष्ट्रियबाट ८ र संस्थापकबाट १२ मतदाता रहेका छन्। साथै चार उपाध्यक्ष पदमा जिल्ला–नगरबाट २, एसोसिएटबाट १ र वस्तुगतबाट १ जना निर्वाचित हुनेछन्।