काठमाडौं,२० वैशाख
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निजी क्षेत्रलाई अनावश्यक भय डर र त्रासमा नपर्न आग्रह गर्दै सरकार व्यवसायमैत्री सुधारको पक्षमा रहेको बताउनुभएको छ।
आइतबार निजी क्षेत्रका प्रतिनिधिसँग भएको छलफलमा उहाँले सरकारको प्राथमिकता उद्योग–व्यवसायलाई दबाबमा पार्ने नभई आर्थिक तथा नीतिगत संरचनामा सुधार ल्याउने रहेको स्पष्ट पार्नुभयो। उहाँका अनुसार सुशासन अभियानलाई प्रभावकारी बनाउन निजी क्षेत्रसँग सहकार्य अपरिहार्य छ, तर अर्थतन्त्रलाई कमजोर बनाउने गतिविधिप्रति राज्य भने कठोर रूपमा प्रस्तुत हुनेछ।
लामिछानेले विगतमा राजनीतिक अस्थिरताका कारण व्यवसायीहरू विभिन्न शक्ति केन्द्रको प्रभावमा पर्नुपरेको अवस्थालाई सरकारले बुझेको उल्लेख गर्दै अब नीतिगत स्थायित्वमार्फत व्यवसायीलाई सुरक्षित वातावरण प्रदान गरिने बताउनुभयो। उहाँले व्यवसाय सञ्चालनका लागि राजनीतिक पहुँच खोज्नुपर्ने पुरानो अभ्यास अन्त्य हुने दाबी पनि गर्नुभयो।
व्यवसायीहरूको मनोबल कमजोर बन्दै गएको चर्चा भइरहेका बेला संवाद आवश्यक ठानेर छलफल अघि बढाइएको उल्लेख गर्दै उहाँले सुशासनका कदमलाई लिएर उठेका प्रश्नलाई स्वाभाविक रूपमा लिन आग्रह गर्नुभयो। सरकारको उद्देश्य कुनै पनि व्यवसायलाई कमजोर बनाउने नभई पारदर्शी र उत्तरदायी आर्थिक वातावरण निर्माण गर्ने रहेको उहाँको भनाइ थियो।
उहाँले उद्योगी–व्यवसायीलाई आफ्ना संस्थागत कमजोरीको समीक्षा गर्न, आन्तरिक लेखापरीक्षणमार्फत विगतका त्रुटि सच्याउन तथा सुधार प्रक्रियामा सरकारसँग सहकार्य गर्न पनि आग्रह गर्नुभयो।
लामिछानेले नीतिगत सुधार, सुशासन र आर्थिक पुनर्संरचना वर्तमान सरकारको मुख्य लक्ष्य भएको उल्लेख गर्दै आगामी केही वर्षभित्र नेपाललाई मध्यम आय भएको राष्ट्र बनाउने अभियानमा निजी क्षेत्रको भूमिका निर्णायक रहने बताउनुभयो। साथै लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको भन्दै व्यवसायीलाई आत्मविश्वासका साथ लगानी र व्यवसाय विस्तार गर्न आग्रह गर्नुभयो।