काठमाडौँ, २० वैशाख
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताउनुभएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उहाँले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार प्रेसलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा व्याख्या गर्दै सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्न यसको भूमिका निर्णायक हुने बताउनुभएको हो।
सञ्चारमाध्यम केवल सूचना प्रवाह गर्ने माध्यममा सीमित नभई राजनीति, प्रशासन, निजी क्षेत्र र समग्र समाजलाई जवाफदेही बनाउने प्रमुख संस्था रहेकाले यस क्षेत्रले प्रेस स्वतन्त्रतासँगै उच्चस्तरीय जिम्मेवारी बहन गर्नु आवश्यक रहेको सञ्चारमन्त्री डा तिमिल्सिनाको भनाइ छ।
उहाँले नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार पूर्णप्रतिबद्ध रहेको स्पष्ट पार्दै स्वतन्त्र प्रेसले मात्र सुशासन र पारदर्शितालाई दिगो बनाउन सक्ने धारणा व्यक्त गर्नुभयो। साथै, प्रेस स्वतन्त्रतासँगै तथ्यप्रतिको निष्ठा, व्यावसायिक मर्यादा र सार्वजनिक हितप्रतिको उत्तरदायित्वलाई समान रूपमा महत्त्व दिनुपर्ने उहाँको भनाइ छ।
“प्रेसको विश्वसनीयताले नै लोकतन्त्रको विश्वसनीयता बलियो बनाउँछ। वर्तमान डिजिटल युगमा फैलिँदै गएको गलत सूचना, भ्रामक सामग्री र सामाजिक सञ्जालको दुरुपयोगजस्ता चुनौतीप्रति सचेत रहनुपर्ने आश्यकता छ। यस्तो अवस्थामा सत्य, तथ्य र जनहितमा आधारित पत्रकारिता अझ आवश्यक छ”, शुभकामना सन्देशमा भनिएको छ।
मन्त्री डा तिमिल्सिनाले समाजलाई सचेत, जिम्मेवार र लोकतान्त्रिक मार्गमा अघि बढाउन सञ्चार क्षेत्रको भूमिका सधैँ महत्त्वपूर्ण रहने उल्लेख गर्दै सत्य र जनहितका पक्षमा सक्रिय सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीप्रति सम्मान व्यक्त गर्नुभयो।
‘शान्तिपूर्ण भविष्यको निर्माणः मानवअधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन’ भन्ने नाराका साथ मनाइँदै गरेको यस दिवसले स्वतन्त्र, जिम्मेवार र विश्वसनीय पत्रकारिताको अभ्यासलाई अझ सुदृढ बनाउने विश्वाससमेत मन्त्री तिमिल्सिनाले व्यक्त गर्नुभएको छ। रासस