काठमाडौं, १५ वैशाख
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादी ले नातावाद, भनसुन, भ्रष्टाचार तथा कानुनविपरीतका गतिविधिमा संलग्न नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै मन्त्री बादीले जनताको विश्वास र अपेक्षा बोकेर सार्वजनिक जिम्मेवारी सम्हालेको करिब पाँच हप्ता पुगेको उल्लेख गर्दै आफूले पदमा रहँदा नगर्ने कामहरूको सूची सार्वजनिक गर्नुभएको हो।
उहाँले नातागोता, चिनजान वा व्यक्तिगत सम्बन्धका आधारमा जागिर लगाउने, नियुक्ति दिने तथा स्वार्थअनुसार सरुवा–बढुवा मिलाउने काम नगर्ने स्पष्ट पार्नुभएको छ। साथै कानुनविपरीत भनसुन गर्ने, शक्तिको दुरुपयोग गर्ने वा गलत कार्यमा संलग्न व्यक्तिलाई संरक्षण गर्ने कार्यमा आफू संलग्न नहुने बताउनुभएको छ।
मन्त्री बादीले लागूऔषध, ठगी, जालसाजी, कुटपिट तथा तस्करीजस्ता अपराधमा संलग्न व्यक्तिको संरक्षण नगर्ने र कुनै पनि प्रकारको घुस, कमिसन वा भ्रष्टाचार स्वीकार नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तीकृत समुदायमाथि हुने हिंसा र विभेदविरुद्ध निरन्तर आवाज उठाउने बताउनुभयो।
त्यस्तै, राज्यका स्रोत–साधनको दुरुपयोग नगर्ने, सरकारी सेवा छिटो गराइदिन भनसुन वा सिफारिस स्वीकार नगर्ने तथा मन्त्री सुविधाका नाममा अनावश्यक सुविधा नलिने पनि उहाँले उल्लेख गर्नुभएको छ।
‘भोट दिएको आधारमा कुनै दबाब वा प्रभावमा पर्ने छैन, सबै नागरिकलाई समान व्यवहार र सेवा प्रदान गर्नेछु,’ उहाँले उल्लेख गर्नुभएको छ।
नागरिकका दुःख, आपत् र समस्यामा सम्भव भएसम्म प्रत्यक्ष साथमा उभिने प्रतिबद्धता जनाउँदै मन्त्री बादीले सुशासन सरकारको नीतिले मात्र नभई नागरिकको सचेत र सामूहिक प्रयासबाट स्थापित हुने बताउनुभयो।
उहाँले ‘सम्बन्धभन्दा नियमको सम्मान गरौं, दबाबभन्दा न्यायलाई प्राथमिकता दिऔं र व्यक्तिगत स्वार्थभन्दा समाजको हितलाई अगाडि राखौं’ भन्दै सुशासनको अभियानमा सबैलाई साथ दिन आग्रह गर्नुभएको छ।