काठमाडौं, १४ वैशाख
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल सँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ ले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा सोमबार भएको भेटमा शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुद क्षेत्रका साथै नेपाल–चीन सहकार्यका विविध विषयमा छलफल भएको थियो।
भेटका क्रममा विद्यालय पूर्वाधार विकास, पठनपाठनमा डिजिटल प्रणालीको विस्तार, संस्थागत विकास तथा समसामयिक विषयमा विशेष रूपमा कुराकानी भएको जनाइएको छ। साथै, नेपाल र चीनबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि विचार आदानप्रदान भएको थियो।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले विद्यालय पूर्वाधार सुदृढीकरण, शिक्षामा डिजिटल प्रणालीको संस्थागत विकास तथा चिनियाँ सरकारसँगको साझेदारी अझ विस्तार भएको हेर्न चाहेको बताउनुभएको थियो। उहाँले शिक्षा क्षेत्रमा सञ्चालन भइरहेका परियोजना शीघ्र सम्पन्न गर्न र नेपाली युवाको रुचिअनुसार उपलब्ध गराइने चिनियाँ छात्रवृत्तिलाई थप प्रभावकारी बनाउन पनि चिनियाँ पक्षको ध्यानाकर्षण गराउनुभएको थियो।
राजदूत माओमिङले नेपाल सरकारले उठाएका विषयमा चीन सरकार सहकार्य र साझेदारी विस्तार गर्न सकारात्मक रहेको बताउनुभएको छ।
भेटमा दुई देशबीचको बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समझदारी भएको जनाइएको छ ।