काठमाडौं, १४ वैशाख
लामो समयदेखि छाप्न बाँकी रहेका १२ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० छपाइ सम्पन्न भएको छ। सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच भएको पहिलो चरणको सम्झौताअनुसार उक्त लाइसेन्स छापिएको हो।
सुरक्षण मुद्रण केन्द्रले छापिएका लाइसेन्स वैशाख १४ गते औपचारिक कार्यक्रममार्फत सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने जनाएको छ। केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार पहिलो चरणअन्तर्गत १२ लाख कार्ड छपाइ सम्पन्न भइसकेको छ।
उहाँले दैनिक दुई सिफ्टमा औसत ४० हजार कार्ड छापिएको र केही दिन ६० हजारसम्म उत्पादन गरिएको जानकारी दिनुभयो।
केन्द्रले दोस्रो चरणमा थप १७ लाख लाइसेन्स छाप्ने तयारी गरेको छ। यससम्बन्धी सम्झौता वैशाख ४ गते भइसकेको छ। केन्द्रसँग हाल एक महिनाका लागि पुग्ने प्रिन्ट कार्ड मौज्दात रहेकाले असार मसान्तसम्म दोस्रो चरणको काम पनि सम्पन्न हुने जनाएको छ। बाँकी कार्ड खरिद प्रक्रिया समेत पूरा भइसकेकाले छपाइ कार्य नरोकिने ढुङ्गानाले बताउनुभयो।
पहिलो चरणको १२ लाख र दोस्रो चरणको १७ लाख गरी कुल २९ लाख लाइसेन्स छापिएपछि साउन १ गतेदेखि छपाइको पुरानो बाँकी समस्या अन्त्य हुने केन्द्रको दाबी छ। त्यसपछि सेवाग्राहीले लाइसेन्सका लागि लामो समय रसिद बोकेर हिँड्नुपर्ने अवस्था अन्त्य हुने बताइएको छ।
यसअघि मागअनुसार लाइसेन्स छाप्न नसक्दा सेवाग्राहीले दुईदेखि तीन वर्षसम्म कुर्नुपर्ने अवस्था थियो। विगतमा दैनिक करिब चार हजार लाइसेन्स मात्रै छापिने गरेकोमा अहिले उत्पादन क्षमता बढाएर दैनिक झन्डै ४० हजारसम्म पुर्याइएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन लाइसेन्स छपाइको ढिलासुस्ती हटाउन निर्देशन दिएपछि छपाइ प्रक्रिया तीव्र बनाइएको जनाइएको छ।
२०७२ सालदेखि लागू गरिएको स्मार्ट लाइसेन्स प्रणाली सुरु भएदेखि नै छपाइमा ढिलाइ हुँदै आएको थियो। प्रारम्भिक चरणमा दैनिक करिब पाँच हजार माग हुँदा जम्मा दुई हजार पाँच सय लाइसेन्स मात्र छापिने गरेको थियो।