काठमाडौँ, १३ वैशाख
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले साना तथा मझौला उद्योगी व्यवसायी मुलुकको अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको बताउनुभएको छ।
साना तथा मझौला व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको आठौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले स्थानीय उत्पादन, रोजगारी सिर्जना र उद्यमशीलताको विकासमा साना व्यवसायीको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।
नेपालमा समस्याको व्याख्या गर्ने र भाषण गर्नेको कमी नभए पनि व्यवहारमा परिवर्तन ल्याउनेको अभाव रहेको उहाँको भनाइ थियो। “हामी व्याख्या धेरै गर्छौँ, तर बदल्ने कुरामा ध्यान दिँदैनौँ, अब व्याख्या मात्र होइन, ठोस काम गरेर देखाउनुपर्ने बेला आएको छ”, अध्यक्ष दाहालले भन्नुभयो।
बजेट निर्माण हुनुभन्दा अगाडि नै अर्थमन्त्रीसँग बसेर व्यवसायीका समस्याबारे गम्भीर छलफल गर्ने उहाँले उल्लेख गर्नुभयो। बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदर, प्रशासनिक झन्झट, नीतिगत अस्पष्टता र बजारमा बिचौलियाको दबदबाका कारण व्यवसायी मारमा परेका अध्यक्ष दाहालले बताउनुभयो।
अध्यक्ष दाहालले सङ्घीय संसद् र विशेष गरी राष्ट्रियसभाले व्यवसायीको हकहितका लागि आवश्यक कानुन निर्माण र संशोधनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले कर प्रणालीलाई सरल र व्यवसायीमैत्री बनाउन, युवा उद्यमीलाई प्रोत्साहन गर्न र बजारमा पारदर्शिता कायम गर्न राज्यका सम्बन्धित निकाय सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद टेकबहादुर शाक्यले उद्योगी, व्यवसायीको मागप्रति सरकार गम्भीर रहेको बताउनुभयो। उहाँले सरकार व्यवसायी र उपभोक्ता सबैको भएकाले समस्या समाधान गर्ने उल्लेख गर्नुभयो। सांसद शाक्यले निजी क्षेत्रको राय, सुझाव र सल्लाहलाई ग्रहण गरेर सरकार अगाडि बढ्ने स्पष्ट पार्नुभयो।
महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्कीले व्यवसायीको समस्यालाई सरकारले नसुनेको गुनासो गर्नुभयो। उहाँले रास्वपाको नेतृत्वमा भर्खरै निर्माण भएको सरकारले उद्योगी व्यवसायीका समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो।
सरकारका पूर्वसचिव कृष्णहरि बाँस्कोटाले विश्व अर्थतन्त्रको असर नेपालको अर्थतन्त्रमा परेको बताउनुभयो। उपभोक्ता संरक्षण ऐनले व्यवसायीलाई समस्यामा पारेको भन्दै उहाँले तत्काल समाधान गर्दै लैजानुपर्ने बताउनुभयो।
नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्र सरकासँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासङ्घ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले करका दर समायोजन गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो।
विसं २०७४ मा २१ वटा सङ्घ मिलेर बनेको उक्त महासङ्घमा हाल १० हजार व्यवसायी आबद्ध हुनुहुन्छ। महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठले कर प्रणालीलाई पुनरावलोकन गर्न आवश्यक रहेको बताउनुभयो ।बढ्दो भन्सार दरले उद्योगी व्यवसायी समस्यामा परेको उहाँले बताउनुभयो।
अध्यक्ष श्रेष्ठले व्यवसायीको गोदाममा मौज्दात सामान र आयतको क्रममा रहेको सामानका कारण तत्काल अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू गर्न नसकिने बताउनुभयो। रासस