काठमाडौँ, १३ वैशाख
शनिबारको वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ। शनिबार दिउँसो चार बजेबाट बन्द भएको राजमार्ग खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ।
शनिबार परेको वर्षापछि विभिन्न ठाउँका डाइभर्सन बग्दा राजमार्ग सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार आइतबार साँझसम्म पनि सडक सञ्चालनमा ल्याउन कठिन हुने देखिएको छ।
प्रहरीका अनुसार रोशी खोलाको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, ठुलोढुंगा र माम्ती क्षेत्रमा रहेका डाइभर्सन बगाएको छ। साथै नेपालथोक र सिन्धुलीतर्फको आँपघारी क्षेत्रमा पनि डाइभर्सन क्षतिग्रस्त भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कोमल शाहका अनुसार राजमार्गका विभिन्न खण्डमा डाइभर्सन बग्दा काभ्रेको मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलिखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोट क्षेत्रमा सयौँ सवारी साधन रोकिएका थिए।
आइतबार बिहानदेखि भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलिखेलमा रोकिएका सवारी साधनलाई सुरक्षित स्थानतर्फ पठाइसकिएको प्रहरीले जनाएको छ। मंगलटार क्षेत्रमा रोकिएका यात्रुहरूलाई पनि वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ पठाउन थालिएको छ।
प्रहरीका अनुसार मंगलटारसम्म आएका सवारी साधन त्यहीँ रोकेर यात्रुहरूलाई रोशी खोला पार गराई पैदल हिँडाइएको छ। त्यसपछि अर्को सवारी साधनमार्फत तेमालको कालधार–नारायणस्थान–भकुण्डे हुँदै धुलिखेलतर्फ पठाउने व्यवस्था गरिएको छ।
मौसममा सुधार आएर सडक सुरक्षित भएको पुष्टि भएपछि मात्र पुनः सवारी सञ्चालन गरिने प्रहरीले जनाएको छ। सडकको अवस्थाबारे थप जानकारीका लागि नेपाल प्रहरीको १०० तथा ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ।