काठमाडौं,११ वैशाख
काठमाडौं उपत्यकाको वायु प्रदूषण पुनः अत्यधिक अस्वस्थ स्तरमा पुगेको छ। बिहान १० बजेसम्म उपत्यकाको हावाको गुणस्तर सूचकांक (एक्युआई) २४७ पुगेको छ, जुन सबै समूहका मानिसका लागि अति अस्वस्थ मानिन्छ।
हिजो बिहान पनि वायु प्रदूषण उच्च स्तरमा पुगेको थियो भने दिउँसो केही सुधार देखिएको थियो। तर आज बिहान फेरि प्रदूषणको स्तर बढेको हो।
उच्च वायु प्रदूषणका कारण काठमाडौं विश्वका ठूला सहरमध्ये सबैभन्दा बढी प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा पुगेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा वायु प्रदूषण बढेको वातावरण विभागले जनाएको छ। विभागअन्तर्गत सञ्चालनमा रहेका सबै मापन केन्द्रहरूले रातो चेतावनी संकेत देखाइरहेका छन्।
एक्युआई १५० भन्दा माथि पुगेपछि हावाको अवस्था सबैका लागि अस्वस्थ मानिन्छ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षाको अभाव, सुख्खायाम, कृषि अवशेष जलाउने प्रवृत्ति तथा वन डढेलोका कारण प्रदूषण बढेको हो।
वन तथा भू–संरक्षण विभागका अनुसार हाल देशका ७८ भन्दा बढी स्थानमा डढेलो लागिरहेको छ, जसको प्रभाव विशेषगरी पश्चिम तराई क्षेत्रमा बढी देखिएको छ।
स्वास्थ्य विज्ञहरूले वायु प्रदूषणले श्वासप्रश्वास तथा मुटुसम्बन्धी रोगको जोखिम बढाउने चेतावनी दिएका छन्। प्रदूषण बढेका बेला अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र धुलो–धुवाँबाट जोगिन सर्वसाधारणलाई आग्रह गरिएको छ। 