सिन्धुली,११ वैशाख
सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा २२ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको घटनामा न्यायको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू धर्नामा बस्नुभएको छ।
सांसद खगेन्द्र सुनार, रीमा विश्वकर्मा सुस्मा स्वर्णकार, गणेश विक, खिमा विश्वकर्मा र आशिष गजुरेलले लगायतका सांसदहरू बुधबार बेलुकादेखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेट अगाडि धर्नामा बस्नुभएको हो।
सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका श्रीकृष्ण विकले खोटाङकी १७ वर्षीया किशोरीसँग प्रेमविवाह गरेपछि श्रीकृष्णलाई बलात्कार मुद्दा लगाएर फसाइएको परिवारको आरोप छ। सो विवाह सम्बन्ध छुटाउन बालिका पक्षले ललितपुरको सातदोबाटो प्रहरीमा बलात्कारको उजुरी दिएपछि विकलाई ३ वैशाखमा पक्राउ गरिएको थियो।
ललितपुरबाट पक्राउ गरी खुर्कोट ल्याइएका विकलाई प्रहरीले ‘आरोप स्वीकार गर्न दबाब दिँदै आएको’ परिवारको भनाइ छ। इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका विकले सोमबार दिउँसो शौचालयको झ्यालमा आफ्नै सर्टको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताए । तर, परिवारले भने प्रहरीको दाबीमाथि प्रश्न उठाइरहेका छन् ।
‘गल्तीको सजाय भोग्छु भनेर छोरा आफैँ आएर बसेको थियो, ड्युटीमा रहेका प्रहरीले के हेरेर बसे? ज्यान सुरक्षित हुन्छ भनेर प्रहरीको जिम्मा लगाएको छोराको लास पाउँदा कसरी विश्वास गर्ने ?’ मृतककी आमा विन्दा विकले प्रश्न गर्नुहुन्छ। घटनास्थलको फोटो वा भिडियो नदेखाउनु र अस्पताल पुर्याएर मृत्यु भइसकेपछि मात्र परिवारलाई खबर गर्नुले घटना थप शंकास्पद बनेको आफन्तहरूको तर्क छ।
प्रहरीले मंगलबार राति नै पोस्टमार्टम गर्ने तयारी गरे पनि परिवारले सहमति दिएका छैनन्। दलित अधिकारकर्मीले सिन्धुलीमा प्रदर्शन गर्दै न्यायको माग गरिरहेका छन्।
घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ।