काठमाडौँ, ९ वैशाख
गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ।
गत चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिँदै पदबाट अलग हुने निर्णय गर्नुभएको हो।
गृहमन्त्री गुरुङले सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो। हाल गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्नु हुने भएको छ।
राजीनामाका सम्बन्धमा स्पष्ट पार्दै मन्त्री गुरुङले पदभन्दा नैतिकता र जनविश्वास ठूलो हुने बताउनुभएको छ। उहाँले आजको समयमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको ‘जेनजी’ आन्दोलनले सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देश दिएको उल्लेख गर्नुभएको छ।
४६ जना दाजुभाइ तथा दिदीबहिनीको बलिदान र रगतको जगमा बनेको सरकारमाथि प्रश्न उठ्दा त्यसको स्पष्ट जवाफ दिनु आफ्नो नैतिक दायित्व भएको उहाँको भनाइ छ।
आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको उहाँले स्पष्ट पार्नुभएको छ। उहाँले परिवर्तनका लागि सबै पक्ष सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिनुपर्नेमा जोड दिनुभएको छ।
राजीनामापछि सञ्चारकर्मी तथा आम नागरिकलाई अपिल गर्दै मन्त्री गुरुङले केही मिडियाकर्मीहरूको शेयर लगानीसम्बन्धी विषयहरू पनि क्रमशः सार्वजनिक हुने बताउनुभएको छ।
उहाँले रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस देखाउनुपर्ने उल्लेख गर्दै पदबाट बाहिरिएर छानबिन प्रक्रियालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।