काठमाडौँ, ९ वैशाख
नेपाल राष्ट्र बैंक ले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न पुनः निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ तान्ने भएको छ।
कर्जाको माग अपेक्षित रूपमा नबढेपछि प्रणालीमा तरलता अत्यधिक बढेको भन्दै केन्द्रीय बैंकले १६० दिनका लागि उक्त रकम संकलन गर्न लागेको हो। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशत ब्याजदरमै केन्द्रीय बैंकलाई रकम उपलब्ध गराउँदै आएका छन्।
तरलता नियन्त्रण र ब्याजदर व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत बजारबाट रकम खिच्दै आएको छ। यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र बोलकबोलमार्फत सहभागिता जनाउन पाउनेछन्।
दीर्घकालीन निक्षेप संकलनमा सहभागी संस्थाहरूले प्रस्ताव गरेको ब्याजदरका आधारमा रकम बाँडफाँट गरिनेछ, जसमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइने व्यवस्था छ। बोलकबोल प्रक्रिया अनलाइनमार्फत सञ्चालन हुनेछ र ब्याजदर पनि सोही आधारमा निर्धारण गरिनेछ।
बोलकबोलमा सहभागी हुन न्यूनतम १० करोड रुपैयाँ प्रस्ताव गर्नुपर्नेछ भने अधिकतम रकम कुल आह्वान रकमभित्र पाँच करोड रुपैयाँको गुणनफलका आधारमा तय गरिएको छ।
१६० दिन अवधिको उक्त निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आउँदो असोज २१ गते गरिनेछ।
खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार दीर्घकालीन रूपमा अधिक तरलता देखिएमा केन्द्रीय बैंकले अधिकतम ६ महिनासम्मका लागि निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने प्रावधान छ। सोही व्यवस्थाअनुसार राष्ट्र बैंकले समय–समयमा यस्तो उपकरण प्रयोग गर्दै आएको छ।