काठमाडौँ, ९ वैशाख
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन बुधबार विराटनगर जाने कार्यक्रम रहेको छ।
निर्धारित कार्यतालिका अनुसार सभापति थापा बिहान ९ः५० बजे विराटनगर विमानस्थलमा अवतरण गर्नुहुनेछ भने बिहान १०ः३० बजेदेखि समीक्षा कार्यक्रम सुरु हुने जानकारी पार्टीकी सहमहामन्त्री डिला संग्रौलाले दिनुभएको छ।
प्रदेशस्तरमा पार्टी संगठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यसहित उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा कोशी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, संघीय तथा प्रदेश सांसद, जिल्ला र क्षेत्रीय सभापति तथा अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सहभागिता रहनेछ।
नेपाली कांग्रेसले पछिल्लो समय विभिन्न प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअघि गण्डकी, लुम्बिनी, बागमती र मधेश प्रदेशमा यस्ता कार्यक्रम सम्पन्न गरिसकेको पार्टीले कोशी प्रदेशमा पनि संगठनात्मक छलफललाई निरन्तरता दिन लागेको हो।
पार्टी नेतृत्वले समीक्षा कार्यक्रममार्फत स्थानीय तहदेखि प्रदेश तहसम्म संगठनको अवस्था, चुनावी परिणाम, कमजोरी र सुधारका सम्भावनाबारे सुझाव संकलन गर्ने अपेक्षा गरेको छ। साथै आगामी राजनीतिक रणनीति, संगठन विस्तार, क्रियाशील सदस्यता, १५औँ महाधिवेशनको तयारी तथा कार्यकर्ताको सक्रियता बढाउने विषयमा पनि छलफल हुने बताइएको छ।
कांग्रेसको कोशी प्रदेश नेतृत्व व्यवस्थापन र संगठन सुदृढीकरणका विषयलाई बैठकमा प्राथमिकताका साथ उठाइने सहमहामन्त्री संग्रौलाले जानकारी दिनुभयो।
पार्टीले प्रदेशस्तरका समीक्षा कार्यक्रमलाई केवल चुनावी हार–जितको विश्लेषणमा सीमित नराखी संगठन पुनर्जागरण अभियानका रूपमा अघि बढाएको छ। विराटनगरको यो कार्यक्रमलाई कोशी प्रदेश कांग्रेसको आगामी दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।