काठमाडौँ, २७ चैत
राष्ट्रपति रामचन्द्र पौडेलले देशका आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने जोड दिनुभएको छ।
नेपाल चेम्बर अफ कमर्सको ७५औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले आर्थिक समृद्धिको मूल आधार व्यापार–व्यवसाय, उद्योगधन्दाको प्रवद्र्धनमा सरकार–निजी क्षेत्र साझेदारी हुनुपर्ने बताउनुभएको हो।
राष्ट्रपतिले आर्थिक समुद्धिबाट नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सहज हुने भएकाले जनताले चाहेको विकास र समृद्धिका निम्ति एकताबद्ध भएर अघि बढ्न सम्बद्ध सबैलाई आह्वान गर्नुभयो।
राष्ट्रपति पौडेलले भन्नुभयो, “मुलुकलाई एउटा जटिल परिस्थितिबाट निकास दिन सफलतापूवर्क सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट स्थापित संसद् र सरकारलाई सुशासनमार्फत आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन मार्गप्रशस्त भएको छ। झन्झटरहित सेवा प्रवाह, जनताको जीवनस्तर उकास्ने आर्थिक विकासका योजना कार्यान्वयनलगायत राष्ट्रनिर्माणको गहन दायित्व भएको वर्तमान सरकारले निजी क्षेत्रको साझेदारीमा आर्थिक विकासलाई अघि बढाउने जनअपेक्षा छ।”
राजनीतिक स्थायित्व आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्दै उहाँले स्पष्ट नीति र दिगो रणनीतिले मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जना हुने भएकाले स्वदेशमा नै कामको अवसर उपलब्ध गराउनु अहिलेको आवश्यकता हो भन्नुभयो। “आजका युवा देशका भविष्य हुन्, उनीहरूलाई स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्न सकेमा देशलाई समृद्धिको मार्गमा दोहो¥याउन सहज हुन्छ,”राष्ट्रपति पौडेलले भन्नुभयो। साथै उहाँले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो।
“आजको प्रतिस्पर्धात्मक युगमा हामीलाई परम्परागत सोचभन्दा बाहिर निस्केर नवीनता, नवप्रवर्तन र साहसिक निर्णय आवश्यक छन्, डिजिटल अर्थतन्त्र, हरित विकास, प्रविधिमा आधारित उद्यमशीलता र स्टार्टअप संस्कृतिको विकास आजको आवश्यकता हो”, राष्ट्रपति पौडेलले भन्नुभयो।
निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा नभई राष्ट्र निर्माणको साझेदारका रूपमा लिनुपर्ने बताउनुभयो।
मुलुकको आर्थिक समृद्धि, उद्योग व्यवसायको प्रवद्र्धन, लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको विकासमा चेम्बरले निर्वाह गरेको भूमिकाको राष्ट्रपतिले सराहना गर्नुभयो।
चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्र र सरकारबीच समन्वय नहुँदा अपेक्षाकृत अर्थतन्त्रको विकास हुन नसकेको बताउँदै सुधारका धेरै क्षेत्र छन् भन्नुभयो। उहाँले देशको अर्थतन्त्र उकास्न सरकारसँग निरन्तर सहयोग एवं समन्वय गर्दै आएको बताउनुभयो। सरकार तथा निजी क्षेत्रबीच चेम्बरले सेतुको भूमिका निर्वाह गरिरहेको उहाँको कथन थियो।
वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले प्रविधिमा आधारित व्यवसायलाई प्रोत्साहन गरी युवालाई नवप्रवर्तनमा लाग्न प्रेरित गर्नुपर्ने बताउनुभयो। विदेशी लगानी भित्र्याउन अनुकूल वातावरण निर्माण गर्न आवश्यक भएको उल्लेख गर्दै उहाँले देशमा अब राजनीतिक स्थायित्व कायम भएकाले औद्योगिक विकास हुने विश्वास व्यक्त गर्नुभयो। रासस