काठमाडौँ, २४ चैत
राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल र उद्योग परिसङ्घबीच राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित विश्वसनीय तथ्याङ्क, सङ्कलन, विश्लेषण, अनुसन्धान तथा नीतिनिर्माणमा सहयोग पुर्याउने उद्देश्यले एक समझदारी भएको छ। मुलुकको आर्थिक विकास, औद्योगिक विस्तार तथा प्रभावकारी नीतिनिर्माणका लागि गुणस्तरीय र समयानुकूल तथ्याङ्क जरुरी आवश्यक रहेकाले उक्त समझदारी गरिएको हो।
तथ्याङ्क प्रणाली विकासका लागि राष्ट्रिय रणनीति, निजी क्षेत्रसँग सम्बन्धित आर्थिक गतिविधिका तथ्याङ्क सङ्कलन, विश्लेषण तथा उपयोगलाई सुदृढ गरी तथ्याङ्कीय गुणस्तर अभिवृद्धि गर्न सरकारी निकाय र निजी क्षेत्र सङ्घसंस्थासँग सहकार्य समन्वय गर्ने रणनीतिअनुरुप यो समझदारी भएको उल्लेख गरिएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयमा एक कार्यक्रममा कार्यालय प्रमुख डा कमलप्रसाद पोख्रेल र परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेको उपस्थितिमा कार्यालयका निर्देशक डा वेदप्रसाद ढकाल र परिसङ्घका महानिर्देशक डा घनश्याम ओझाले हस्ताक्षर गर्नुभएको हो। सो अवसरमा परिसङ्घका अध्यक्ष पाण्डेले यो सहकार्यले निजी क्षेत्रसँग सम्बन्धित आर्थिक तथ्याङ्क सङ्कलन, विश्लेषण तथा उपयोगलाई सुदृढ बनाउन सहयोग गर्ने बताउनुभयो।
तथ्याङ्क कार्यालय प्रमुख डा पोख्रेलले सरकारी तथा निजी क्षेत्रबीच तथ्याङ्क प्रणाली विकासमा सहकार्य, राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित तथ्याङ्कको गुणस्तर सुधार तथा प्रयोग विस्तारमा सहयोगी हुने बताउनुभयो। समझदारीअनुसार परिसङ्घ र कार्यालयबीच राष्ट्रिय आर्थिक गणना, निजी क्षेत्र तथ्याङ्क प्रणाली विकास, अनुसन्धान तथा नीति अध्ययन, तथ्याङ्क आदानप्रदान, क्षमता विकास, प्रचारप्रसार तथा जनचेतनामा सहकार्य हुनेछ। रासस