वासिङ्टन, १९ चैत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धलाई निर्णायक मोडमा पुगेको दाबी गर्दै थप दुईदेखि तीन हप्तासम्म ‘अत्यन्त कडा’ आक्रमण जारी रहने चेतावनी दिनुभएको छ। ट्रम्पको उक्त अभिव्यक्तिले युद्ध अन्त्य नजिक पुगेको सङ्केत गरे पनि अन्तर्राष्ट्रिय चिन्ता झनै बढाएको छ।
ह्वाइट हाउसबाट बुधबार साँझ सम्बोधन गर्दै ट्रम्पले संयुक्त राज्य अमेरिका आफ्नो लक्ष्य हासिल गर्ने चरणमा पुगेको बताउनुभयो, तर युद्ध कसरी र कहिले टुङ्गिन्छ भन्नेबारे स्पष्ट खाका प्रस्तुत गर्नुभएन। उहाँले ‘काम छिट्टै पूरा गरिने’ दाबी दोहोर्याउँदै अमेरिकी आक्रमण अझ तीव्र हुने सङ्केत गर्नुभयो।
एक महिनाभन्दा बढी समयदेखि जारी यस द्वन्द्वले अमेरिकाभित्रै राजनीतिक दबाब बढाइरहेको छ। ट्रम्पको स्वीकृति दर घट्दै गएको छ भने बढ्दो तेल मूल्यका कारण सर्वसाधारणमा आर्थिक दबाब महसुस हुन थालेको छ। यही सन्दर्भमा उहाँले फेब्रुअरी २८ मा सुरु गरिएको आक्रमणमा किन इजरायलसँग सहकार्य गरिएको हो भन्ने विषयमा विस्तृत स्पष्टीकरण दिनुभएको थियो।
उहाँले आफ्नो सम्बोधनमा अमेरिकाको रणनीतिक उद्देश्य इरानको सैन्य क्षमता कमजोर पार्ने, क्षेत्रीय सशस्त्र समूहहरूलाई दिइँदै आएको समर्थन अन्त्य गर्ने तथा इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने रहेको उल्लेख गर्नुभयो। यद्यपि संयुक्त राष्ट्रसङ्घका निकाय र अन्य विश्लेषकहरूले इरान तत्कालै आणविक हतियार नजिक नभएको आकलन गर्दै आएका छन्।
द्वन्द्वको सुरुआती चरणमै इजरायलले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरेको घटनालाई ट्रम्पले आफ्नो सफलताका रूपमा प्रस्तुत गर्नुभयो। उहाँले इरानका ‘धेरैजसो नेतृत्व तह समाप्त भइसकेको’ दाबी गर्दै सैन्य प्रगतिको चर्चा गर्नुभयो।
तर इरानले पनि रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलडमरूमध्यमा नियन्त्रण बढाउँदै प्रतिक्रिया दिएको छ, जुन विश्वको करिब पाँचौँ भाग तेल आपूर्तिको प्रमुख मार्ग हो। यसको असर विश्व बजारमा देखिन थालेको छ—अमेरिकामा पेट्रोलको मूल्य वर्षौंपछि प्रति ग्यालन चार डलरभन्दा माथि पुगेको छ भने सेयर बजारमा गिरावट आएको छ।
ट्रम्पको सम्बोधनपछि पनि बजारमा अनिश्चितता कायम रह्यो। बिहीबार प्रारम्भिक कारोबारमा तेलको मूल्य फेरि बढ्दा लगानीकर्ताहरू सतर्क देखिएका छन्। यसले युद्ध छिट्टै अन्त्य हुने अपेक्षामा शङ्का उत्पन्न गरेको छ।
अमेरिकी सिनेटर क्रिस मर्फीले ट्रम्पको नीतिमा स्पष्टता नभएको टिप्पणी गर्नुभयो। उहाँले ट्रम्पले युद्ध विस्तार गरिरहनुभएको हो कि घटाइरहनुभएको हो भन्ने कुरा अस्पष्ट रहेको बताउँदै सामाजिक सञ्जालमार्फत आलोचना गर्नुभयो।
यसैबिच, ट्रम्पले इरानसँग सम्झौता नभए थप कडा कदम चाल्ने चेतावनी दोहोर्याउँदै देशका ऊर्जा पूर्वाधारमाथि समेत आक्रमण गर्न सकिने सङ्केत गर्नुभएको छ। यस्तो कदम अन्तर्राष्ट्रिय कानुनविपरीत हुन सक्ने र युद्ध अपराधको रूपमा व्याख्या हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।
“हामी उनीहरूलाई पाषाण युगमा फर्काउने छौँ”, उहाँले कडा भाषामा भन्नुभयो, जसले द्वन्द्वको स्वरूप अझ उग्र बन्न सक्ने सङ्केत दिएको छ। यद्यपि कूटनीतिक पहलको सम्भावनाबारे उहाँको सम्बोधनमा खासै उल्लेख थिएन।
ट्रम्पले इरानी राष्ट्रपति मसुद पेजेस्कियानले युद्धविराम खोजिरहेको दाबी गर्नुभएको थियो, तर इरानको विदेश मन्त्रालयले उक्त दाबी अस्वीकार गर्दै अमेरिकामाथि ‘अवास्तविक र अधिकतम दबाब’ सिर्जना गरेको आरोप लगाएको छ।
अमेरिकी सैन्य शक्ति माथि विश्वास व्यक्त गर्दै ट्रम्पले ‘सबै कार्डहरू अमेरिका सँगै रहेको’ दाबी गर्नुभयो। साथै उहाँले खाडी क्षेत्रका सहयोगी राष्ट्रहरूलाई आश्वस्त पार्ने प्रयास गर्दै उनीहरूलाई असफल हुन नदिने बताउनुभयो, यद्यपि ती देशहरू इरानी प्रतिआक्रमणको प्रभावमा परिसकेका छन्।
उहाँले युरोपेली सहयोगीहरूलाई समेत आलोचना गर्नुभयो, जसले अमेरिकी युद्ध प्रयासलाई समर्थन नगरेको भन्दै असन्तुष्टि जनाउनुभयो। खाडी क्षेत्रको तेलमा निर्भर राष्ट्रहरूले होर्मुज जलडमरूमध्यको सुरक्षामा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो। रासस/एएफपी