काठमाडौँ,१८ चैत
नेपाल बैंक लिमिटेडले ‘Smart Money Talks’ भन्ने मूल नारासहित मिति २०८२ चैत ०२ गतेदेखि २०८२ चैत ०८ गतेसम्म सातै प्रदेशका आफ्ना शाखामार्फत सञ्चालन गरेको ‘Global Money Week’ अभियान सफलतापूर्वक सम्पन्न गरेको छ।
विश्वभरका युवा पुस्तामा वित्तीय साक्षरता र आर्थिक सशक्तीकरणको सन्देश फैलाउने उद्देश्यले हरेक वर्ष आयोजना हुने यस अन्तर्राष्ट्रिय कार्यक्रममा यस वर्ष पनि बैंकका सातै प्रदेशस्थित शाखाहरूबाट उत्साहजनक सहभागिता जनाइएको थियो।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विद्यार्थी, युवा तथा सर्वसाधारणलाई बचत, लगानी, डिजिटल बैंकिङ, ऋण व्यवस्थापन र वित्तीय योजनासम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको बैंकले जनाएको छ।
कार्यक्रमका मुख्य गतिविधिमा विद्यालय तथा क्याम्पसमा वित्तीय साक्षरता अभिमुखीकरण कक्षा सञ्चालन, बैंकिङ सेवाबारे जनचेतना अभियान, डिजिटल भुक्तानी प्रणालीसम्बन्धी प्रशिक्षण, बचत खाता खोल्ने विशेष अभियान तथा महिला र युवा उद्यमीका लागि उद्यमशीलता प्रवर्द्धन कार्यक्रम समावेश थिए। साथै प्रभातफेरी, हाजिरी जवाफ प्रतियोगिता र विशेषज्ञ समूह छलफल (Panel Discussion) जस्ता कार्यक्रम पनि आयोजना गरिएका थिए।
नेपाल बैंक लिमिटेडले आगामी दिनमा पनि यस्ता वित्तीय साक्षरता अभिवृद्धिका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आम नागरिकमा वित्तीय सचेतना विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।