नेपालगन्ज १५ चैत
बाँकेको नरैनापुर गाउँपालिकामा चालु आर्थिक वर्ष २०८२र०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। बास नेपालको सहजीकरण तथा गाउँपालिकाको आयोजनामा वडा नं। ४ स्थित रंगशालामा कार्यक्रम आयोजना गरिएको हो।
सुनुवाईका क्रममा सरोकारवाला र सहभागीबीच भएको दोहोरो प्रश्नोत्तरपछि पाँच बुँदे साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरिएको छ। घोषित प्रतिबद्धतामा गुरुकुल पाठशालाको सुधारका लागि शिक्षा समितिमार्फत निर्णय गरी कार्यपालिकामा पठाउने, विद्यालय व्यवस्थापन समिति गठन गर्दा सबै अभिभावकलाई जानकारी गराउने व्यवस्था मिलाउने, वडा नं. ४ मा निर्माण सम्पन्न खानेपानी ट्यांकी सञ्चालनमा ल्याउने, आवश्यकताका आधारमा धारा तथा बोरिङ वितरण सुरु गर्ने तथा सडक निर्माणमा नाला व्यवस्थापन अनिवार्य गर्ने विषय समावेश छन्।
यसैगरी योजनाको प्रभावकारी अनुगमन गर्ने र सडक अतिक्रमणका कारण बढ्दो दुर्घटना न्यूनीकरणका लागि अतिक्रमण हटाउने पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
कार्यक्रममा बास नेपालका निर्देशक हेमराज भट्टले सुनुवाईको उद्देश्य स्पष्ट पार्दै नागरिक प्रतिवेदन पत्र र बहिर्गमन अभिमतको नतिजा सार्वजनिक गर्नुभयो। गाउँपालिकाको चालु आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले प्रस्तुत गर्नुभयो।
बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माले सहजीकरण गर्नुभएको कार्यक्रममा गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
सुनुवाईमा सहभागीहरूले पहिलो पटक सार्वजनिक सुनुवाईमार्फत गाउँपालिकाको प्रगति विवरण प्रस्तुत गरिएको र खुला प्रश्नोत्तरको अवसर दिइएकोमा सकारात्मक प्रतिक्रिया दिएका थिए। विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा लक्षित वर्ग उत्थान कार्यक्रमका विषयमा सहभागीहरूले सक्रिय रूपमा जिज्ञासा राखेका थिए, जसको जवाफ जनप्रतिनिधि तथा कर्मचारीहरूले दिएका थिए।
कार्यक्रममा १६० भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ।