युक्रेन, १०चैत
युक्रेनमा मङ्गलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण पाँच जनाको मृत्यु भएको क्षेत्रीय अधिकारीहरूले बताएका छन्।
पोल्तावा क्षेत्रमा दुई जना र जापोरिझिया, खेरसन र खार्किवमा एक–एक जनाको मृत्यु भएको जनाइएको छ।
आक्रमणको पूर्वसन्ध्यामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसीहरूले ठूलो आक्रमणको तयारी गरिरहेको हुन सक्ने गुप्तचरबाट जानकारी पाएको चेतावनी दिनु भएको छ।
खेरसन सहरको सैन्य प्रशासनका प्रमुख यारोस्लाव सान्कोले खेरसनका एकजना बासिन्दाको आफ्नै घरमा पनि मृत्यु भएको बताउनु भएको छ।
मिडियाले मङ्गलबार क्षतिग्रस्त आवासीय भवनहरूका तस्बिरहरू प्रकाशित गरेको छ।
पोल्टावा क्षेत्रमा दुई जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएको आपतकालीन सेवाले जनाएको छ।
क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर गान्जाका अनुसार रुसले ड्निप्रोपेट्रोभस्क क्षेत्रका दुई जिल्लाहरूलाई २० पटक भन्दा बढी आक्रमण गरेको छ।
सुमीमा मिनीबसका चालक गाडीमा ड्रोनले प्रहार गर्दा घाइते भएको क्षेत्रीय सैन्य प्रशासनका प्रमुखले बताउनु भएको छ।
रुसको रक्षा मन्त्रालयले हवाई सुरक्षाले यस अघि विभिन्न क्षेत्रहरूमा ५५ वटा युक्रेनी फिक्स–विङ मानव रहित हवाई आक्रमणहरू रोकेको जनाएको छ।