बेइजिङ, ६ चैत
मध्यपूर्व युद्धले अमेरिकी कूटनीतिक समीकरण हल्लाइरहेका बेला प्रस्तावित अमेरिका–चीन शिखर सम्मेलनमा शक्ति सन्तुलन बेइजिङतर्फ झुक्ने सङ्केत देखिएको छ। विश्लेषकहरूका अनुसार इरान–इजरायल द्वन्द्वमा फसेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कमजोर स्थितिमा पुग्नुभएको छ। यसले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई वार्तामा थप लाभ लिन सक्ने अवस्था बनाएको छ।
यसै महिनाको अन्त्यतिर बेइजिङ भ्रमण गर्ने तय भए पनि मध्यपूर्वको बिग्रँदो परिस्थितिका कारण ट्रम्पले आफ्नो यात्रा केही हप्ताका लागि स्थगित गर्नुभएको छ। इजरायलसँग मिलेर इरानमाथि आक्रमण गर्ने निर्णयपछि क्षेत्रीय हिंसा चर्किएको, ऊर्जा मूल्य उच्च विन्दुमा पुगेको र इरानले स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा बन्द गरेपछि विश्वव्यापी आपूर्ति अवरोधको जोखिम बढेको पृष्ठभूमिमा उहाँको कूटनीतिक विकल्प सीमित बन्दै गएको विश्लेषण गरिएको छ।
युद्धको अन्त्य कसरी गर्ने भन्ने स्पष्ट रणनीति तय गर्न कठिनाइ भइरहेका बेला परम्परागत सहयोगीहरूबाट पनि अपेक्षित समर्थन नपाउँदा ट्रम्प चीनसँग कूटनीतिक उपलब्धि खोज्न बाध्य हुनसक्ने आकलन गरिएको छ। अन्तर्राष्ट्रिय क्राइसिस ग्रुपका वरिष्ठ सल्लाहकार अली विनले अमेरिकी शक्ति प्रदर्शन उल्टै असर पार्दै ‘अमेरिकी सर्वशक्तिको भ्रम कमजोर बनाएको’ टिप्पणी गर्नुभयो। उहाँका अनुसार होर्मुज जलडमरूमध्य पुनः खोल्न एक्लै असमर्थ अमेरिकालाई अहिले आफ्नै प्रतिद्वन्द्वी चीनको सहयोग आवश्यक परेको छ।
मङ्गलबार ट्रम्पले आफू ‘पाँच वा छ हप्ताभित्र’ चीन जाने अपेक्षा गरेको बताउनुभएको थियो। सम्भावित शिखर सम्मेलनको मुख्य उद्देश्य अघिल्लो अक्टोबरमा दक्षिण कोरियामा भएको भेटमा सहमति भएको भन्सार शुल्क युद्धविरामलाई औपचारिक रूप दिने मानिएको छ। तर वर्तमान कमजोर अवस्थाले अमेरिकालाई गहिरो कर कटौती वा महत्त्वपूर्ण खनिज पहुँचजस्ता विषयमा कडा अडान लिन कठिन हुने देखिएको छ।
गत सप्ताहन्त पेरिसमा भएका अमेरिकी–चिनियाँ व्यापार वार्तालाई ‘रचनात्मक’ भनिए पनि ठोस उपलब्धि नदेखिएको विश्लेषण गरिएको छ। युरेशिया समूहका डान वाङका अनुसार व्यापार, प्रविधि र अधिकारसम्बन्धी दीर्घकालीन विवादका कारण द्विपक्षीय विश्वास कमजोर बनेको छ, जसले ठूलो सहमतिको सम्भावना सीमित बनाएको छ। त्यसमाथि, चीनसहित ६० अर्थतन्त्रमा अतिरिक्त औद्योगिक क्षमतासम्बन्धी अमेरिकी अनुसन्धानले बेइजिङलाई असन्तुष्ट बनाएको छ।
यसबीच चीनले आफ्नो रणनीतिक लाभ जोगाइरहेको देखिन्छ। बेइजिङले होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउन अमेरिकाको आग्रहलाई हालसम्म बेवास्ता गरेको छ भने दुर्लभ पृथ्वी खनिज निर्यातमा कडाइ पनि यथावत् राखेको छ। यी खनिजहरू अमेरिकी रक्षा उद्योगका लागि अत्यावश्यक मानिन्छन्। सिङ्गापुरको नेसनल युनिभर्सिटीका जेसन बेडफोर्डका अनुसार केही ‘भारी’ दुर्लभ पृथ्वी तत्त्वहरू ड्रोन, जेट, मिसाइल प्रणाली र राडारमा प्रयोग हुने भएकाले तिनको आपूर्ति नियन्त्रणले अमेरिकी सैन्य उत्पादनमै असर पार्न सक्छ।
अमेरिकाको आन्तरिक राजनीतिमा पनि यस सङ्कटको प्रभाव देखिन सक्ने सङ्केत गरिएको छ। चीनले कृषि उत्पादन खरिदजस्ता विषयलाई वार्तामा दबाबका रूपमा प्रयोग गर्न सक्ने बताउँदै विश्लेषकहरूले रिपब्लिकन दलका लागि महत्त्वपूर्ण मध्यावधि निर्वाचनमा यसको असर पर्न सक्ने बताएका छन्। फुदान विश्वविद्यालयका वु सिन्बोले चीनसँग सम्बन्ध स्थिर राख्न नसक्दा अमेरिकाले थप चुनौती सामना गर्नुपर्ने चेतावनी दिनुभयो।
यद्यपि, सम्भावित शिखर सम्मेलनले दुवै देशका दीर्घकालीन भू–रणनीतिक लक्ष्यमा ठूलो परिवर्तन ल्याउने सम्भावना कम देखिएको छ। ट्रम्प प्रशासनले बढ्दो ऊर्जा मूल्य नियन्त्रण गर्न इरानी तेलमाथिका केही प्रतिबन्ध खुकुलो पार्ने विचार गरिरहेको बताइएको छ, जसले चीनलाई लाभ पुग्न सक्ने विश्लेषण गरिएको छ। चीनलाई प्रतिबन्धित इरानी तेलको मुख्य खरिदकर्ता मानिने भएकाले यसले तेहरानको अर्थतन्त्रलाई सहारा दिने भूमिका खेलिरहेको छ।
यता, ताइवानलाई अमेरिकी हतियार आपूर्ति जारी रहुन्जेल चीनले इरानसँगको रक्षा सहकार्य सीमित गर्ने कुनै प्रेरणा नपाउने विश्लेषकहरूले बताएका छन्। यसले व्यापक शक्ति प्रतिस्पर्धा अझ जटिल बनाएको छ।
बेइजिङका सर्वसाधारणबीच पनि ट्रम्पको सम्भावित भ्रमणप्रति मिश्रित प्रतिक्रिया देखिएको छ। एक स्थानीय आइटी कर्मचारीले उहाँलाई ‘अस्थिर निर्णय गर्ने नेता’ का रूपमा चित्रण गर्दै सम्झौतापछि पनि धारणा परिवर्तन हुन सक्ने बताएका छन्। अर्का एक वित्त क्षेत्रका कर्मचारीले भने अमेरिकी पक्षबाट अझै पनि सकारात्मक सम्बन्धको सङ्केत आएको रूपमा यस भ्रमणलाई हेरेका छन्।
रासस/एएफपी