काठमाडौँ, ५ चैत
आजदेखि राष्ट्रिय समाचार समिति (रासस) को प्रधानसम्पादकमा शीतलप्रसाद महतोले जिम्मेवारी सम्हाल्नुभएको छ। राससको समाचार सेवालाई अझ बढी चुस्तदुरूस्त, व्यवस्थित, प्रभावकारी, गुणस्तरीय, परिणाममुखी र जवाफदेही बनाउन व्यवस्थापनले विभागीय जिम्मेवारी हेरफेर गरेको हो।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाद्वारा यही चैत २ गते हस्ताक्षरित पत्रअनुसार अधिकृतस्तर दसौँ तहका महतोलाई सो जिम्मेवारीमा सरुवा गरिएको हो। यसअघि उहाँ प्रशासन प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो।
राससमा २०५६ सालदेखि स्थायी सेवा प्रवेश गर्नुभएका महतो लामो समयसम्म राससको तत्कालीन नारायणी अञ्चल कार्यालय, वीरगञ्जको प्रमुख तथा केन्द्रीय कार्यालयको समाचार सङ्कलन र सम्पादन शाखामा रही काम गरिसक्नुभएको अनुभव छ। उहाँ नेपाल पत्रकार महासङ्घका केन्द्रीय पूर्वसचिवसमेत भइसक्नुभएको छ।
प्रबन्ध सम्पादकमा सिल्वाल, प्रमुख समाचारदातामा पाठक
यसअघिका प्रधानसम्पादक उत्तम सिल्वाललाई प्रबन्ध सम्पादकको जिम्मेवारी दिइएको छ। सिल्वालसँग प्रमुख समाचारदाता र प्रशासन प्रमुखको अनुभव छ। राससको संशोधित विनियमावली, २०८२ ले सो प्रबन्ध सम्पादक पदको नयाँ व्यवस्था गरेको छ।
यसैगरी प्रमुख समाचारदातामा समाचार महाशाखाका उपप्रमुख एकराज पाठकलाई जिम्मेवारी दिइएको छ। पाठक यसअघि प्रधानसम्पादक र प्रमुख समाचारदाता भइसक्नुभएको छ।
खोजमुलक समाचार र ‘पोडकाष्ट’ संयोजकमा न्यौपाने
हालसम्म प्रमुख समाचारदाता रहनुभएका नारायणप्रसाद न्यौपानेलाई खोजमुलक समाचार र ‘पोडकाष्ट’ संयोजकको जिम्मेवारी दिइएको छ। उहाँले यसअघि समाचार सङ्कलन शाखाको उपप्रमुख र निमित्त प्रमुखको भूमिकामा पनि काम गर्नुभएको छ। उहाँहरू सबैले आजदेखि नयाँ जिम्मेवारी सम्हाल्नुभएको छ। नयाँ जिम्मेवारी प्राप्त विभागीय प्रमुखलाई महाप्रबन्धक सन्दीप राईले पदस्थापन गराउँदै बधाई दिनुभएको छ। रासस