बुटवल,१ चैत
बुटवलमा आजदेखि चैत २४ गतेसम्म ‘बुटवल महामेला’ आयोजना हुँदैछ। मेलाको उद्घाटन आज बेलुका ५ बजे गरिने कार्यक्रम तय गरिएको छ।
देवीनगरस्थित रंगशालामा सञ्चालन हुने मेलामा करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ। फर्वार्ड नेपाल मल्टिप्रपोज कम्पनीको आयोजनामा हुने यस मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ।
मेलामा जलपरी कपल डान्स, बुर्ज खलिफा शैलीको आकर्षण, लुम्बिनीको प्रतिमासहित विशेष सचिवालय लगायत विभिन्न आकर्षणहरू राखिएको कम्पनीका अध्यक्ष गोविन्द भुषालले जानकारी दिनुभएएको छ।
आयोजक संस्थाले मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। मेलालाई थप आकर्षक बनाउन टिकटक प्रतियोगिता, डान्स प्रतियोगिता लगायतका विविध कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ।
आयोजकका अनुसार मेला मनोरञ्जनसँगै व्यापारिक गतिविधि प्रवर्द्धन गर्न र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी हुने अपेक्षा गरिएको छ।
बुटवल उपमहानगरपालिका संरक्षक रहेको यस मेलामा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। साथै, आकर्षणका रूपमा बुर्ज खलिफा, सिंहदरबार, धरहरा र बुद्ध मूर्तिसहित लुम्बिनीको झल्को दिने गरी विशेष सचिवालय निर्माण गरिने अध्यक्ष भुषालले बताउनुभयो।
मेलाको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले गर्ने कार्यक्रम रहेको छ। मेलामा विभिन्न प्रकारका १२० वटा स्टल रहनेछन्। मेला अवधिभर करिब पाँच लाख दर्शक आउने र एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।